नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा आज बिहीबारदेखि महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ। बेनीको खुल्ला मञ्चमा दिउँसो २ बजे हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र सुदूरपश्चिम प्रदेश भिड्दैछन्।
जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीका अनुसार लिग कम नकआउटमा खेलाइने प्रतियोगिताका लागि सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।
प्रतियोगिताका लागि सबैजसो टिम अहिले म्याग्दी पुगिसकेका छन्। ‘सात प्रदेशसहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको अवस्था छ,’ जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए।
महिला भलिबलमा १० टिमको सहभागीता रहेको छ। जसलाई चार समूहमा विभाजन गरिएको छ। समूह १ र २ मा तीन/तीन तथा समुह ३ र ४ मा २/२ वटा टिम रहेका छन्। पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १६ खेल सञ्चालन हुनेछन्।
महिला भलिबलसँगै शुक्रबारदेखि म्याग्दीमा तेक्वान्दोका खेलहरु समेत सुरु हुदैछन्। प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक ११ टिमका ६१७ जना म्याग्दीमा जाने तय छ।