सङ्कटमा परम्परागत पानी घट्ट, जातो र ओखल

भजनी – दुर्गम गाउँमा खानेकुराको लागि निकै अभाव, न्यून उब्जनी र खेतीपाती पनि शून्य हुँदा दैनिक मजदूरी र पानीघट्ट सञ्चालन नै परिवारको आयआर्जनको माध्यम बनेको छ । अछामको रामारोशन गाउँपालिका–१ का बालाराम परियारको दैनिक जीवन यसरी नै बित्दै आएको छ । कैलाश खोलाको किनारमा भएको एक पानीघट्टले अझै पनि बालारामको १० जनाको परिवार पालिन्छ ।

maya metro hospital

‘खेतीबारी केही नहुँदा दिनभर मजदूरी वा त्यही पानीघट्ट चलाएर नै परिवार पाल्ने आधार बन्दै आएको छ,’ उनले भनीन ‘त्यही घट्टले मेरो बुबाले गुजारा चलाए, मेरो पनि आधा उमेर त्यही घट्टका ढुङ्गा पल्टाएर बित्यो ।’ अहिले बालाराम ७० वर्ष पुगे पनि उनको जोश र जागर अहिले पनि तन्नेरीकै जस्तो छ । अझै पनि कैलाश खोलाका ढुङ्गा पल्टाउने र, घट्टमा गेडागुडी पिसाउन आएकासँग केही पिठो लिन्छन उनी । त्यसको कुनै नापजाँच भने हुँदैन । जस्ले जति दियो त्यतिमै चित्त बुझाउनुपरेको बालाराम बताउन्छन ।

‘यति चाहिन्छ भनेर माग्ने चलन छैन । जति दियो त्यतिमै चित्त बुझाउनुपर्छ’ उनले भने ‘दिनमा दुईदेखि पाँच केजीसम्म पिठो भइहाल्छ ।’ गाउँमा त्यो बेला एक दर्जनभन्दा बढी पानी घट्ट रहेकामा अहिले बालारामको मात्रै छ । विसं २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले दर्जनौंँ पानीघट्ट बगाएपछि घट्ट सञ्चालकले त्यसपछि त्यो पेसालाई निरन्तरता दिन छोडेका हुन् ।

attariya hospital

‘गाउँगाउँमा बिजुली बत्ती पुगेपछि मिल पनि सञ्चालनमा आएका छन् । पहिलेको जस्तो पानी घट्टको महत्व पनि छैन’ स्थानीय दाताराम खनाल भन्छन ‘पैसा नहुने, घट्टमै पिसेको पिठो राम्रो मान्ने मात्रै घट्टमा आउँछन्, नभए पानी घट्ट विस्थापित हुने अवस्थामा पुगिसकेको छ ।’ उनले परम्परागतरुपमा पुर्खाले बनाएका पानी घट्टको अस्तित्व लोप हुने अवस्थामा पुगेको गुनासो गरे । त्यतिबेला खानको लागि निकै अभाव हुँदा, खेतीपाती नभएका अधिकांशको सहारा पानीघट्ट हुन्थ्यो ।नदीको किनारमा निर्माण हुने अधिकांश पानी घट्टमा मेहनत भने निकै हुन्थ्यो ।

ग्रामीण बस्तीका लागि पानीघट्ट एक महत्वपूर्ण आवश्यकताको वस्तु हो । गेडागुडी पिसेर पिठो बनाउन पानीघट्ट र जातोको प्रयोग हुँदै आएको छ । जाँतोकोे विकल्पमा प्रयोग हुने गरे पनि पानीघट्ट ग्रामीण क्षेत्रको लागि महत्वपूर्ण साधनको रुपमा लिने गरिएको रामारोशन गाउँपालिका–१ का वडाध्यक्ष चक्रबहादुर साउद बताउन्छन ।

‘पानीघट्ट, जाँतो र ओखलसँग हाम्रो नजिकैको सम्बन्ध छ । यसको संरक्षण र सम्बद्र्धन निकै आवश्यक छ’ उनले भने ‘सङ्कटमा रहेका यस्ता वस्तुलाई संरक्षण गरी राख्न सके भाबी सन्ततिका लागि इतिहास बन्न सक्छ ।’ त्यस्तै ग्रामीण बस्तीको अर्को महत्वपूर्ण साधन भनेको ओखल पनि हो । पिसानीका लागि पानीघट्ट र जाँतो जस्तै कुटानीको माध्यम ओखल हो । अहिले पुरानो पानीघट्ट, जातो र ओखलको अस्तित्व हराउँदै गएको छ । जसले गर्दा पुर्खौदेखिको परम्परागत संरचनाको अस्तित्व नै समाप्त हुने चिन्ता पनि बढ्दै गएको छ ।

रासस

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.