टीकापुर क्षेत्रका बाढीपीडितलाई रातह वितरण गर्दै जनप्रतिनिधि

टीकापुर – कैलालीका बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि बाढीपीडितको उद्धार र राहतमा व्यस्त रहेका छन् । कर्णाली नदीमा बाढी आएपछि कैलालीको टीकापुर नगरपालिका, जानकी, जोशीपुर गाउँपालिका र भजनी नगरपालिका डुबानमा परेका छन् । बाढीले टीकापुरका वडा नं २, ५ र ८ मा सयौँ घर डुबानमा परेका छन् ।

Karma Consultancy

वडा नं २ मा रानीकुलो विभिन्न ठाउँमा फुटेर बस्तीमा पसेपछि विभिन्न बस्ती डुबानमा परेका वडा नं २ का वडाध्यक्ष दीपक चौधरी बताउँछन् । ‘खतरामा छौँ, मूलपानी जाने बाटो नजिकै रानीकुलो ड्याम फुटेको छ । कटासे नजिकै जगतपुर र मिलनचोकमा रानीकुलो फुटेर बस्तीमा पसेकाले डुबान भएको छ’, उनले भने, ‘बन्दीपुर, कोठारपुर, विजयनगर, राजीपुर, सीतापुर डुबानमा परेकाले हामी उद्धारमा खटेका छौँ ।’

citizen security services

टीकापुरको वडा नं ५ मा पनि रानीकुलो बस्तीमा पसेको छ । यसका साथै शाहीपुरमा कर्णाली नदीको तटबन्ध भत्कने खतरा बढेकाले नागरिकलाई सुरक्षित राख्न विभिन्न प्रयास भइरहेका वडाध्यक्ष बलवीर चौधरीले जानकारी दिए । ‘उर्दिपुर, बङ्गालपुर, झन्टझटपुर मनिकापुर पूरै जलमग्न भएको छ’, उनले भने, ‘शाहीपुरमा कर्णाली नदीमा तटबन्ध फुट्ने खतरा बढेको छ । त्यसैले त्यहाँका बस्तीलाई उच्च स्थानमा सारिरहेका छौँ ।’

attariya hospital

त्यस्तै टीकापुरको वडा नं ८ को वनगाउँबाट नदी बस्तीमा पसेको छ । वडा नं ८ को वनगाउँका नागरिकले तीन दिनदेखि घर छाडेका छन् । वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बाढीले नागरिकको सम्पत्ति र खेत सबै क्षति भएको बताए । ‘वडा पूरै डुबानको खतरामा छ । फाँटागाउँका मानिस सडकमा, कालिमाटी स्कुल, सूर्यपुर स्कुललगायतका ठाउँमा राखेका छौँ’, उनले भने, ‘यस वर्ष भोकमरी हुने निश्चित छ। नदी भङ्गालो बनाएर बस्तीमा पसेको छ ।’

जानकी गाउँपालिका वडा नं ९ मा पनि बाढी बस्तीमा पसेको छ । नदी बस्ती पस्नबाट रोक्ने पालिकाको अथक प्रयास सफल भएन । नदी बस्तीमा पसेपछि वडा नं ९ का केही परिवार विस्थापित भएका र उनीहरूको बसोबास तथा खानपानको व्यवस्था मिलाउन थालिएको अध्यक्ष गणेश चौधरीले बताए । ‘दर्जन बढी घर विस्थापित भएका छन् । अहिले पनि घर फर्कने वातावरण छैन’, अध्यक्ष चौधरीले भने, ‘पीडितलाई राहतमा खाद्यान्न दिएका छौँ । उहाँहरूको खानपानको व्यवस्थासमेत गरिएको छ ।’

कर्णाली नदीमा पानीको सतह बढेर विभिन्न वडामा बाढी आएपछि सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल, टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू, उपप्रमुख खड्कबहादुर शाह, प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीलगायत सबै पीडितको उद्धारमा खटेका छन् । बाढीपीडितलाई सुरक्षित स्थानमा सार्ने, उनीहरूको बसोबासको व्यवस्था मिलाउने, जोखिममा रहेकालाई सार्न स्थानीयवासीको सहयोग लिने काम भइरहेको छ ।

नदी बस्तीमा पसेपछि आइतबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री रावलले यस क्षेत्रका प्रभावित विभिन्न ठाउँको निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री रावलले जिल्ला प्रशासन कार्यालय, मन्त्रालयअन्तर्गतको प्रादेशिक विपद् समितिलाई विपद्बाट जोगाउन राहत, उद्धारका कार्यमा जुट्न निर्देशन दिनुभएको छ ।

‘आइतबार रातिदेखि नै म सुरक्षाकर्मी साथमा लिएर उद्धारमा खटेको छु । रातभरि प्रभावित क्षेत्रको अवलोकन गरेको छु’, उनले भने, ‘स्थिति भयाभह र दयनीय छ । सबैलाई राहत तथा उद्धारमा खट्न निर्देशन दिएको छु ।’

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.