बाजुरा – बाजुराको डाब खप्तड पर्यटन सडक चार महिनापछि सञ्चालनमा आएको छ । चार महिनादेखि अवरुद्ध हुँदैआएको सो सडकलाई स्थानीय तहले दशैं तिहार अगावै खोल्नेगरी निर्माणको काम सम्पन्न गरेपछि नवमीको दिनदेखि सञ्चालनमा आएको हो ।
बूढीगङ्गा नगरपालिका १० का अध्यक्ष दलबहादुर साउँदले सो सडकलाई वडा पालिकाले भदौमै सुचारु गर्नेगरी काम गर्दैआएको भए पनि वर्खाको समय बाढिपहिरोको कारण सडक खोल्न समय लागेको बताए ।
उनले भने, “लामो समयको प्रयासले डाब खप्तड पर्यटन सडक डाबदेखि डुग्ररसैनसम्म, सिगाडा, झण्डार देउमाण्डौं बदेडा हुँदै डुँग्ररसैन जिप, टक्याटर लगायतका सवारी साधन सुचारु हुन थालेका छन् ।’
डाब खप्तड पर्यटन सडक सुचारु भएपछि काँडा जयवागेश्वरी, जुवापनी सोलापाखा तीमाडा बदेडाका स्थानीयलाई दैनिक उपभोग्य सामग्री तथा आउजाउमा सहज भएको वडा अध्यक्ष साउँदले बताए ।
चार महिनादेखि अवरुद्ध बन्दैगएको डाब खप्तड पर्यटन सडक असोज १८ गतेदेखि सुचारु भएपछि बदेडा तीमाडा सेलापाखा, जयबागेश्वरी काँडा लगायतका स्थानीयलाई नुन तेल दाल चामलसहित दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको छ ।
बूढीगङ्गा नगरपालिका १० शान्तिबजारका साहु खम्म सार्कीले, साँफेबजार डाब बजारदेखि भरिया लगाएर सामान ल्याउनु पर्ने बाध्यता अब टरेको बताए । बाटो खुलेपछि दैनिक उपभोग्य सामग्रीको मूल्य पनि घटेको उनको भनाइ छ ।