दोधारा चाँदनी – कञ्चनपुरको बेदकोट नगरपालिका–३ का प्रेम टमटाले भगवानको मूर्ति बनाएर परिवारको जीविका चलाएकोे दुई दशक भन्दा बढी भयो । सानै उमेरमा घरबाट भागेर कामको खोजीमा भारतको राजधानी दिल्ली पुगेका उनले दिल्लीस्थित जैपुरमा भगवानको मूर्ति बनाउने कारखानामा काम गरे ।

उक्त कारखानामा टमटाले करिब १० वर्ष मजदूरीको गरे । १० वर्षको अवधिमा कारखानामा काम गर्ने मूर्तिकारको सीप सिके र उनी नेपाल फर्किए । ‘दश वर्ष मूर्ति कारखानामा मजदुरीको काम गर्दा मेलै पनि मूर्ति बनाउन सिकिसकेको थिएँ ।’ उनले भने ‘काम सुरु गर्दादेखि नै मूर्ति बनाउने रहर थियो विस्तारै सिक्दै गएँ ।’ भारतबाट सीप सिकेर नेपाल फर्किएका उनले हाल घरमै भगवानका मूर्ति बताउन्छन । तामा, पित्तल, ढुङगा, काठ र सिमेन्टबाट निर्मित विभिन्न भगवानका मूर्ति बनाउने गरेको उनले बताए ।

‘करिब २० वर्ष भयो, मूर्ति बनाएर परिवारको जोहो गरेको छु’ टमटाले भने ‘अहिले मूर्तिको माग धेरै बढेको छ, दार्चुला बैतडीदेखि काठमाडौँसम्मबाट मूर्ति बनाउनका लागि आउँछन् ।’ उनले शिव पार्वती, हनुमान, दुर्गा, हात्ती र बाघ जस्ता विभिन्न भगवान र जीवजन्तुका मूर्ति बनाउने गरेको बताए ।
आफूले बनाएका मूर्ति नेपालको विभिन्न धार्मिकस्थलमा राखिएको टमटाले बताए । कैलालीको गोदावरीस्थित ६० फिट लामो हुनमानको मूर्ति करिब नौ महिना लागाएर बनाएको उनले बताए । ‘प्रसिद्ध धार्मीकस्थल गोदावरी धाममा राखिएको हनुमानको मूर्ति मैले बनाएको हुँ’ उनले भने ‘नौ महिना लगाएर बनाएको मूर्तिको रु चार लाख पारिश्रमिक पाए ।’
गोदावरीधाम बाहेक कञ्चनपुरको पर्यटकीयस्थल शिवलिङगेश्वर धामस्थलमा समेत आफूले बनाएका मूर्ति स्थापित रहेको उनले बताए । विशेष गरी चाडपर्वको बेला मूर्ति बनाउने चाप बढी हुने गरेको उनले बताए । ‘देवीदेवताको मन्दिरमा चढाउन चाडपर्वको बेला बढी माग हुन्छ’ उनले भने ‘मूर्ति बनाएरै अहिलेसम्म परिवार चलेको छ ।’
नेपालमै मूर्ति बनाउने कारखाना खोल्ने ईच्छा रहेको भए पनि आर्थिक अभावका कारण त्यो सपना पूरा हुन नसकेको टमटाले बताए । ‘यही कारखाना स्थापना गर्नसके यहाँ अन्य धेरैले रोजगारी पनि पाउँथे सीप पनि हस्तान्तरण हुने थियो’ उनले भने ‘आर्थिक समस्याका कारण कारखाना स्थापना गर्न सकेको छैन ।’ उनले अहिले पनि मूर्ति बनाउनका लागि भारतबाट मूर्तिकार आउने गरेको बताए ।
‘अझै पनि मूर्ति बनाउन भारत जानुपर्ने र त्यहाँको मूर्तिकार ल्याउनुपर्ने बाध्यता छ’ उनले भने ‘मैले सिकेको सीप अरुलाई पनि सिकाउन सक्थे यसले हाम्रो देशमै मूर्तिकार भएपछि यही रोजगारी पनि हुन्थ्यो ।’ उनले अहिले सीप नभएर थुप्रै युवा रोजगारीका लागि भारत जाने गरेको बताए ।
अहिले मूर्ति बनाएर साइज हेरेर रु २० हजार देखि रु चार÷पाँच लाखसम्म पारिश्रमिक लिने गरेको टमटाले बताए । ‘ग्राहकलाई चाहिए अनुसारको मूर्ति बनाउन सक्छु’ उनले भने ‘काठ, ढुङ्गा, सिमेन्ट पित्तल तामाका मूर्ति सहजै बनाउन सक्छु ।’ उनले अहिलेसम्म देशका विभिन्न भागमा मूर्ति बनाएर पठाएको बताए । ‘सुरुवातको केही समयमा काम गर्न असजिलो भयो’ उनले भने ‘अहिले त मलाई खोज्दै आउछन्, म सन्तुष्ट छु ।’
रासस