महेन्द्रनगर – प्रतिनिधि सभा सिटको भागबन्डा टुंयाएको सत्ता गठबन्धनमा नेपाली कांग्रेसले सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये आधाभन्दा बढी आफ्नो भागमा राखेको छ ।

गठबन्धनमा नेपाली कांग्रेसले ९ निर्वाचन क्षेत्र पाउँदा सत्ता साझेदार नेकपा माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीको भागमा ३ निर्वाचन क्षेत्र परेका छन् ।

नेपाली कांग्रेसको भागमा तराइका दुई जिल्लाका पाँच निर्वाचन क्षेत्र कञ्चनपुर–२, ३, कैलाली–१, ४ र ५ परेका छन् । यस्तै पहाडी जिल्लाअन्तर्गत पर्ने प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा, दार्चुला, अछाम–२ र बाजुरा कांग्रेसले पाएको छ ।
नेकपा माओवादी केन्द्रले कञ्चनपुर–१, कैलाली–२, ३ र बैतडी पाउने पक्कापक्की भएको छ । यस्तै नेकपा एकीकृत समाजवादीले अछाम–१, बझाङ र डोटी पाउने निश्चित छ ।
आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको उम्मेदवारी दर्ता गर्न तोकिएको मिति नजिकिँदै जाँदा टिकटका लागि गठबन्धन र नेकपा एमालेमा नेताहरू लबिङ पनि बढाएका छन् ।
सुदूरपश्चिमका केही क्षेत्रबाहेक अधिकतर ठाउँमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । निर्वाचन मिति नजिकिएसँगै प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा गठबन्धन र नेकपा एमालेबाट उम्मेदवार को बन्लान् भनेर चासोका साथ हेरिन थालिएको छ ।
यी हुन गठबन्धन र एमालेका सम्भावित उम्मेदवार
दार्चुला
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा एमालेबाट पूर्वमन्त्री गणेश ठगुन्ना उम्मेदवार बन्ने निश्चित छ । उनी दार्चुलाबाट सर्वसम्मत उम्मेदवारका लागि सिफारिस भएका छन् ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका नेपाली कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने सम्भावना बढी रहेको नेताहरू बताउँछन् ।
यद्यपि कांग्रेसबाट त्यहाँ ०७४ मा चुनाव हारेका विक्रमसिंह धामी, जगदीश पाल र गौरीशंकर गिरी पनि प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिफारिसमा परेका छन् ।
बैतडी
नेकपा एमालेको सुदूरपश्चिम अध्यक्षसमेत रहेका दामोदर भण्डारी बैतडीमा यसपटकको प्रतिनिधि सभा चुनावमा पनि प्रतिस्पर्धा गर्दै छन् ।
०७४ मा चुनाव जितेका भण्डारीलाई यसपटक पनि एमालेले सर्वसम्मत सिफारिस गरेको छ । यही आधारमा केन्द्रले टिकट वितरण गरेमा भण्डारी बैतडीमा गठबन्धनविरुद्ध एमाले उम्मेदवार बन्ने निश्चित छ ।
गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको बैतडीमा नरेन्द्र कुँवर (विजय सुन्दर) उम्मेदवार बन्ने छन् ।
डडेल्धुरा
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट यसपटकको चुनावमा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्दै छन् ।
०४८ यता लडेका कुनै पनि निर्वाचनमा नहारेका देउवा यसपटक पनि सुरक्षित देखिन्छन् । देउवाविरुद्ध चुनाव लड्न डडेल्धुरामा एमाले नेता पठानसिंह बोहरा सर्वसम्मत सिफारिस भएका छन् ।
कांग्रेसबाट कारबाहीमा परेर कांग्रेस बीपीमा प्रवेश गरेका कर्णबहादुर मल्लले पनि देउवाविरुद्ध चुनाव लड्ने घोषणा गरिसकेका छन् । यद्यपि एमाले र कांग्रेस बीपीबीच चुनावी तालमले हुने चर्चा पनि व्यापक छ ।
कञ्चनपुर
तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा गठबन्धनका उम्मेदवार स्पष्ट छन् । गठबन्धनमा कांग्रेसले कञ्चनपुर–२ र ३ पाएको छ । प्रधानमन्त्री देउवाका विश्वास पात्र मानिने नेता एनपी साउद २ नम्बर र रमेश लेखक ३ नम्बर क्षेत्रमा चुनाव लड्ने छन् ।
माओवादी केन्द्रको भागमा परेको कञ्चनपुर १ मा भने पुष्पकमल दाहाल (प्रचण्ड) की बुहारी बिना मगर गठबन्धनको साझा उम्मेदवार बन्ने छिन् ।
कञ्चनपुरमा नेकपा एमालेले भने उम्मेदवार टुंग्याउन सकेको छैन । आकांक्षी बढी हुँदा एमालेलाई उम्मेदवार छान्न सकस परेको छ ।
०७४ मा जितेको कञ्चनपुर ३ मा इन्चार्ज निरुदेवी पाल र सांसद डा. दीपकप्रकाश भट्टबीच टिकटका लागि रस्साकस्सी छ । एमाले अध्यक्ष केपी शर्मा ओली टिकट मानिने पालले टिकट पाउने सम्भावना बलियो रहेको एमाले नेताहरू बताउँछन् ।
एमालेको आन्तरिक धुव्रीकरणमा पाल ओलीनिकट र भट्ट १० बुँदे पक्षधर मानिन्छन् ।
नेकपा एमालेले समानुपातिकतर्फ सांसद बनेकालाई नदोहोर्याउने निर्णय गरेको छ । त्यसैले पाललाई प्रतिनिधि सभा छिर्न यसपटक प्रत्यक्ष चुनाव लड्नुपर्ने बाध्यता छ ।
‘उहाँ (निरु) को केन्द्रसम्म राम्रो पहुँच छ’, नेकपा एमालेका एक नेताले भने, ‘त्यसैले पार्टीमा व्यक्तिवादी सोच हावी भएर उहाँले टिकट पाउने सम्भावना बढी छ ।’
सांगठनिक रूपमा भट्ट बलियो रहेकाले उनलाई फेरि चुनावमा उर्तानुपर्ने मत पनि एमालेमा छ । ‘०५१ सालपछि एमालेले जित्न सकेको थिएन, ०७४ मा उहाँ (भट्ट) ले कांग्रेसको किल्ला तोड्नुभयो,’ एमालेका अर्का नेताले भने, ‘त्यसैले फेरि एकपटक उहाँलाई टिकट दिनुपर्छ ।’
कञ्चनपुर २ मा एमालेबाट ०७४ का विजेता नरबहादुर धामी र राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष वचनबहादुर सिंहको सशक्त दाबी छ । यस्तै कञ्चनपुर १ मा एमालेबाट तारा लामा तामाङ, खेम सुवेदी र बीरबहादुर थापा आकांक्षी छन् ।
कैलाली
सुदूरपश्चिमको सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा गठबन्धनमा आकांक्षी बढी देखिएका छन् । कांग्रेसको भागमा परेको कैलाली १ मा पूर्वमन्त्री रामजनम चौधरी गठबन्धनको साझा उम्मेदवार बन्ने सम्भावना बढी छ । उसो त कांग्रेसबाट चौधरीसँगै बुद्धिसागर चौधरी, नृपबहादुर खड्का र टेकेन्द्रबहादुर धामीको नाम सिफारिसमा परेको छ ।
एमालेबाट सोम थापा, तपेन्द्र रावल र शिलु खतिवडा (स्वार) मध्ये एकजना उम्मेदवार बन्नेछन् । यहाँ नागरिक उन्मुक्ति पार्टीबाट केन्द्रीय अध्यक्षसमेत रहेकी रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चुनावमा होमिँदै छन् ।
माओवादी केन्द्रको भागमा परेको कैलाली २ मा संविधानसभा सदस्य भगत बडुवाल सम्भावना बढी छ । एमालेबाट कैलाली २ मा झपटबहादुर रावल, सूर्यबहादुर थापा र कमला वलीको दाबी छ । ०७४ मा जितेका रावलको सम्भावना बढी रहेको एक नेताको दाबी छ ।
‘अरू उम्मेदवार भन्दा बलियो उहाँ (झपट) नै हो, तर गुटगत हिसाबले टिकट बाँडिए नपाउन सक्नुहुन्छ,’ ती नेताले भने, ‘क्षेत्र नम्बर २ मा एमालेमा उहाँको विकल्प अरू कोही छैन ।’
यस्तै माओवादीकै भागमा परेको कैलाली ३ मा टिकटका लागि रस्साकस्सी छ । ०७४ मा यो क्षेत्र माओवादीले जितेको थियो । त्यसबेला जितेका माओवादी केन्द्रका गौरीशंकर चौधरी अहिले एमालेमा छन् । एमालेले यहाँ उनैलाई अघि सार्ने सम्भावना बढी छ । यसो त कैलाली ३ का लागि एमालेले चुलुराम चौधरीको नाम पनि अघि सारेको छ ।
क्षेत्र नम्बर ३ मा गठबन्धनको साझा उम्मेदवार बन्न माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरी (उत्सव), नेताहरू वीरमान चौधरी र कृष्ण चौधरी ‘कुन्दन’ लबिङमा छन् ।
कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर उम्मेदवार बन्दै छन् । उनी चुनाव लडिरहेको डोटी एकीकृत समाजवादीका प्रेमबहादुर आलेलाई छाडेर बलायर कैलाली ४ बाट चुनाव लड्ने तयारीमा छन् ।
कैलाली ४ मा कांग्रेसलाई नेताहरू व्यवस्थापन गर्न चुनौती छ । यहाँबाट प्रतिनिधि सभामा चुनाव लड्न ०७४ मा हारेका सुनिल भण्डारी, नैनसिंह महर, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा.लक्ष्मीराज पाठकले पनि आकांक्षा देखाएका छन् । एमालेले कैलाली ४ मा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।
गठबन्धनमा कांग्रेसको भागमा परेको कैलाली ५ मा एकल सिफारिस भएकी डा. आरजु राणा देउवा समानुपातिकमा लागेपछि उम्मेदवार टुंगिएको छैन । कैलाली ५ मा कांग्रेसबाट सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह मनु, नेताहरू सुनिल भण्डारी र निवर्तमान प्रदेश सभा सदस्य डिल्लीराज पन्तलाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।
डोटी
सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीको भागमा परेको डोटीमा पूर्वमन्त्री प्रेमबहादुर आले साझा उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने छन् । नेकपा एमालेले त्यहाँका अध्यक्ष चक्र मल्ललाई गठबन्धनविरुद्ध चुनावमा उतार्ने तयारी गरेको छ ।
अछाम
दुई निर्वाचन क्षेत्र रहेको अछाम १ मा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र दुवैको दाबी छ । समाजवादीले यो क्षेत्रबाट गठबन्धनका साझा उम्मेदवार वर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर बनाउन चाहेको छ ।
नेकपा एमाले जिल्ला कमिटीले पूर्वउपाध्यक्ष डा. भीम रावललाई एकल सिफारिस गरे पनि उनको टिकट निश्चित भएको छैन । १० बुँदे समझदारी गरी एमालेमै बसेका रावल र अध्यक्ष ओलीको सम्बन्ध सुमधुर छैन ।
सर्वसम्मत सिफारिसमा परेका रावलको टिकट रोक्न पार्टीको नीति विपरीत चलेको आरोप लगाउँदै केही दिनअघि सुदूरपश्चिम प्रदेशका रावलविरोधी नेताहरूले ओलीलाई रावलको विकल्प खोज्न आग्रह गरेका थिए । उनीहरूले अछाम १ मा कृष्ण जैसीलाई उम्मेदवार बनाउन सिफारिस गरेको स्रोतको दाबी छ ।
अछाम निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसबाट त्यहाँका सभापति पुष्पबहादुर शाह उम्मेवार बन्ने सम्भावना बढी रहेको कांग्रेस नेताहरू बताउँछन् । यद्यपि त्यहाँ कांग्रेस नेताहरू बलबहादुर कुँवर, गणेशबहादुर विष्ट र रामबहादुर शाहीले पनि दाबी गरेका छन् ।
नेकपा एमालेबाट अछाम २ मा ०७४ का विजेता यज्ञ बोगटी एकल सिफारिस भएकाले उम्मेदवार बन्ने निश्चित छ ।
बाजुरा
बाजुरामा गठबन्धन र नेकपा एमालेबाट अझै उम्मेदवार स्पष्ट भइसकेको छैन। गठबन्धनबाट कांग्रेस सहमहामन्त्री बद्री पाण्डे उम्मेदवार बन्ने सम्भावना बढी छ । पाण्डेसँगै खम्बबहादुर खाती, अंगराज तिमिल्सिना, रामसिंह रावल, जनकराज गिरी, कविराज पण्डित र मनबहादुर रावलको कांग्रेसबाट दाबी छ ।
यस्तै नेकपा एमालेबाट स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह र लोकेन्द्र शाही आकांक्षी छन् । थापाले टिकट पाउने सम्भावना बलियो रहेको एमाले स्रोतको दाबी छ।
बझाङ
गठबन्धनबाट बझाङमा नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी उम्मेदवार बन्ने निश्चित छ । नेकपा एमालेले अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महरलाई उम्मेदवार बनाउने सम्भावना छ ।
एमालेले बझाङबाट उम्मेदवारका लागि महरसहित महेश भट्टराई र जुना जाग्रीको नाम पनि सिफारिस गरेको छ ।