अत्तरिया – कैलालीको गोदावरीका एक पुरुषले छातिमा दशैँको जमरा उमारिरहेका छन् । वडानम्बर ९ मुरकट्टीका नरबहादुर साउँदले छातिमा जमरा उमारिरहेका हुन् । उनले घटस्थापनादेखि व्रत बसेर छातिमा जमरा उमारिरहेको बताए । घटस्थापनादेखि विधिवत पूजापाठ गरेर उनले छातिमा जमरा उमार्न घरमै उपवास बसेका छन् ।

‘एकपटक मात्र खाना खान्छु । त्यो पनि रोटीमात्र’, उनले भने, ‘नवरात्रको व्रत बसेको हुँ । नवरात्रको व्रतका साथसाथै भगवतीप्रति आस्था रहन्छ भनेर यसरी जमरा उमारिरहेको छु ।’

उनले नुहाउन तथा शौचालय जाँदा पत्नीलाई उक्त जमरा छातीमा राख्न लगाउने गरेको बताए । उनले रातदिन जमरा छातिमा राखेर उमारिरहेका हुन् । अब नवमीको दिन बलि दिएर जमरा काटिने उनको भनाइ छ ।