बैतडी – बैतडीको पाटनमा सम्पन्न दोस्रो संस्करणको पाटन प्रिमियिर लिग (पिपिएल–२) क्रिकेटको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालयले जितेको छ । फाइनलमा ग्वाल्लेक क्रिकेट क्लबलाई चार विकेटले हराउँदै भीमदत्तले उपाधि हात पारेको हो ।

ग्वाल्लेकले दिएको २०३ रनको विजयी लक्ष्य भीमदत्त शिक्षालयले १८।४ ओभरमा भेट्टायो । विजयी गराउन शतकीय पारी खेल्ने क्रममा सुमित बुडालले एक सय २८ रनको योगदान गरे ।

यसअघि पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गरेको ग्वाल्लेकले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय दुई रन बनायो । उसका लागि नवीन चन्दले ६२ तथा महेश शाहले ६० रन जोडे । भीमदत्त शिक्षालयका राहुल चन्दले दुई विकेट लिए ।
उपाधिसँगै भीमदत्त शिक्षालयले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले जानकारी दिनुभयो । ग्वाल्लेकले रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र पायो ।
यसैबीच ग्वाल्लेकका दीपक बोहरा म्यान अफ द सिरिजसहित बेस्ट ब्याट्सम्यान घोषित भए । बोहराले रु ११ हजार एक सय ११ म्यान अफ द सिरिजवापत र बेस्ट ब्याट्सम्यान घोषित भएवापत रु पाँच हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी ग्वाल्लेककै दीपक जोशी बेस्ट बलर घोषित भए । जोशीले रु पाँच हजार पाँच सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पाटन क्रिकेट क्लबको आयोजनामा यही असोज ३ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा २४ टोली सहभागी थिए । गत वर्षदेखि पाटन प्रिमिमियर लिग आयोजना हुँदै आएको छ । गत संस्करणको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।