अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया तेक्वान्दो डोजाङ्गले अभिभावक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारी डोजाङ्गले अन्र्तक्रिया कार्यक्रमका साथै शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरेको हो ।

डोजाङ्ग प्रमुख ईन्द्र बहादुर सिँहको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला तेक्वान्दो संघ कैलालीका उपाध्यक्ष दिपेन्द्र सिँह प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा डोजाङ्गमा प्रशिक्षण लिईरहेका विद्यार्थीका अभिभावकहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै डोजाङ्ग प्रमुख ईन्द्र बहादुर सिँहले अत्तरिया क्षेत्रमा तेक्वान्दोको विकाशका लागी धेरै संघर्ष र मेहनत गर्नुपर्ने देखिएको बताए । उनले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनलाई मुख्य रुपमा खेलमैदान नै नभएको भन्दै उनले दुखेको व्यक्त गरे ।
‘तेक्वान्दो खासमा ईन्डोर गेम हो, बन्द कोठा भित्र खेलिने यस खेलका लागी अत्तरियामा ठाउँ नै छैन’ उनले भने ‘अहिले दुर्गालक्ष्मी सामुदायीक बनको भवन अगाडी खेलाएपनि त्यो भवन भित्र ट्यापे केटाहरुको नसा सेवन गर्ने अड्डा बनेको छ ।’
उनले खेलमैदानको अभावका कारण बालबालीकाहरुले चाहे जती मात्रामा अभ्यास गर्न नसकिरहेको बताए । यसैगरी उनले बच्चाहरुलाई खेलप्रति प्रोत्साहन गराउनु अभिभावकको पनि दायीत्व भएको बताए । ‘कतिपय अभिभावकहरु बालबालीकाले खेलकुदमा रुची राख्दा रिसाउँछन, पढाई बिग्रिन्छ भन्छन’ उनले भने ‘तर खेलकुदले पढाई बिग्रिदैन, बरु बालबालीकाहरुलाई बाहिरी ज्ञान दिन्छ, अनुशासित बनाउछ, नैतिकवान बनाउँछ ।’
उनले खेलकुदबाटै कतिपय मानिसहरु अगाडी बढेका बताउदै उनले बालबालीकाहरुलाई रुचि अनुसारको खेलमा अभिप्रेरित गराउन अभिभावकहरुलाई आग्रह गरे ।
कार्यक्रममा बेल्ट प्रमोट भएका विद्यार्थीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन डोजाङ्गका खेलाडी टेकेन्द्र साउँदले गरेका थिए ।