बेदकोट – ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका गाउँबस्ती खेलमय बनेका छन् । नेपालीको महान् चाड बडा दसैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिदा गाउँबस्ती खेलमय बनेका हुन् ।

घरभन्दा टाढा रहेका मानिस चाडपर्वको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ । जिल्लाका विभिन्न ठाउँमा चाडपर्वलाई लक्षित गरेर साना ठूला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–१ हात्तिथलामा आदर्श युवा समाजले क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । ‘प्रत्येक वर्ष दसैँ र तिहारको अवसरमा क्रिकेट प्रतियोगिता राख्ने गरेका छौँ’, आदर्श युवा समाजका अध्यक्ष ज्ञानेश्वर जोशीले भने, ‘चाडबाडमा खेलको निहुँमा साथीभाइसँग भेटघाट हुन्छ, साथै विभिन्न ठाउँका खेलाडी आउने हुनाले खेलाडीलाई सिक्ने मौका पनि हुन्छ ।’

उनका अनुसार प्रतियोगितामा बेदकोट नगरका प्रत्येक वडाका एक÷एक टिम गरेर १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई नगद रु एक लाख एक सय र उपविजेतालाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । ‘प्रत्येक वडाबाट एउटा टिम आउँछ, त्यहाँबाट खेलाडी छनौट गरेर नगरको टिम पनि तयार गरिन्छ’ उनले भने ।
बेदकोट नगरपालिका–३ भम्कामा पनि फुटबल प्रतियोगिता आयोजना गरिएको छ । चाडपर्वमा सबै फुर्सदमा हुनाले यस समयमा आयोजना गरिएका खेलले सामाजिक सद्भाव, एकता तथा भाइबन्धुत्वको भावना विकास हुने भम्कामा फुटबल प्रतियोगिता आयोजना गरिरहनुभएका सेक्युर्ड नेपालका अध्यक्ष प्रजापति भट्ट बताए ।
‘विद्यार्थीको बिदाको समय छ, चाड पर्वले सरकारी कर्मचारी तथा घरबाट टाढा रहेका घर फर्किएका छन् । खेतीपाती सकेर चाडपर्वको यो समयमा अधिकतर फुर्सदमा छन’ उनले भने ‘त्यसैले चाड पर्व लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको छ, खेलले चाड पर्वको समयमा फुर्सदमा रहेकालाई जोड्ने काम गरेको छ ।’
विद्यालय बिदा भएर फुर्सदिमा बनेका विद्यार्थी तथा युवायुवती चाड पर्वको समयमा कुलतमा फस्ने खतरा हुनाले खेलुकदले कुलतमा फस्नबाट पनि जोगाउन सक्ने उनको भनाइ छ । प्रत्येक वर्ष चाड पर्वको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए । कञ्चनपुरको नौ वटै स्थानीय तहका गाउँबस्ती सहर बजारका युवायुवतीदेखि वृद्धवृद्धासम्म आयोजना गरिएका ‘खसी कप’ तथा नगद धनराशि पुरस्कारका खेलकुद कार्यक्रममा झुमेका छन् ।
कञ्चनपुरको भीमदत्त, दोधारा, बेदकोट, बेलडाँडी, पुनर्वास, बेलौरीलगायत ठाउँमा क्रिकेट, फुटबल, ब्याडमिन्टर, भलिबललगायत खेल आयोजना भइरहेका छन् । चाडपर्व सुरु भएसँगै खेलकुदका गतिविधि ह्वात्तै बढेको कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले बताए । उनले भने ‘चाडपर्वले अहिले खेलकुद गतिविधि बढेका छन्, यसले खेल विकासमा टेवा मात्रै पुग्दैन, साथीभाइसँग भेटघाट हुनाले रमाइलो पनि हुन्छ ।’
रासर