अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले अनुगमन थालेको तेस्रो दिन शुक्रबार १६ हजार बराबरका खाद्यान्न जफत गरिएको छ । नगरपालिकाको टोलीले अत्तरिया बजारको पहाडरोडका ११ वटा व्यवसायीक पसलहरुमा गरेको अनुगमनमा १५ हजार ९ सय १७ रुपैया बराबरका सामग्रीहरु जफत गरिएको हो ।

अनुगमनका क्रममा म्याद नाघेका सामग्रीहरु बरामद गरी जफत गरिएको गोदावरी नगरपालिका पशु सेवा शाखाका कर्मचारी टेक बहादुर शाहुले बताए । उनले म्याद नाघेका सामग्रीहरुमा सबै भन्दा बढी मसलाजन्य सामग्री नै रहेको बताए ।

नगरपालिकाले बुधबार बाट नगर उपप्रमुख शारदा रोकायाको संयोजकत्वमा निरन्तर अनुगमन थालिरहेको छ । अनुगमनमा सबैभन्दा बढी मसलाजन्य सामग्रीहरु नै बरामद गरिएका छन ।
बिहिबार १४ किलो ५ सय ग्राम मसलाजन्य सामग्री बरामद गरिएको थियो भने शुक्रबार ८ हजार बराबरका मसलाजन्य सामग्री बरामद गरिएका छन ।
मसलासँगै शुक्रबार रु. ७ सय बराबरका चाउचाउ चकलेट, रु. ३० को पाउरोटी, रु. १ हजार ९ सय को ज्वानो, रु. १ हजार ९ सय ५२ बराबरको साबुन, रु. ९ सय बराबरको मिठाई, रु. ३ सय ८० बराबरको मेहन्दी, रु. १ हजार ९ सय ८० बराबरको ग्लुकोज, रु. ४० बराबरको हिङ र रु. ३० बराबरको चिजबल बरामद गरिएको शाहुले बताए ।