आज बडा दशैँको पाँचौँ दिन स्कन्दमाताको भगवतीको पूजाआराधना गरिदैछ । स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्ति हुने शास्त्रीय कथन रहेको छ । मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्ने जनविश्वास छ । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् ।

नवरात्रको अन्यदिन झैं आज पनि गुह्येश्वरी, शोभाभगवती, नक्सालभगवती, भद्रकाली, संकटा, बज्रबाराही, पलाञ्चोक भगवती, दक्षिणकाली, मनकामना लगायत देशभरिका शक्तिपीठहरूमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

घटस्थापनाका दिनदेखी दशमीका दिनसम्म सनातन हिन्दू धर्माबलम्बीहरुले आ–आफ्नो कुल परम्पराअनुसार घरको पूजाकोठा, दसैं घरमा भक्तिपूर्वक पूजाआजा तथा दुर्गा सप्तशती चण्डी पाठ गर्ने गर्दछन् ।
दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआधाना गर्ने गरिन्छ ।