अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नगरभित्रको ठेलाछाप्रा, सडक अतिक्रमण हटाउन पुनः अर्को सूचना निकालेको छ । यसअघि निकालेको सूचनाको म्याद सकिएको २० दिन पछि नगरपालिकाले पुनः सडकमा राखिएका ठेलाछाप्रा, टहरा, टिनको छानो (पाली) र सडक पेटिमा राखिएका मालसामान हटाउन १० दिने सूचना निकालेको हो ।

प्रमुख प्रशासकीय अधिकृतद्धारा जारी सूचनामा असोज २१ गते भित्र ठेलाछाप्रा र सडक अतिक्रमण हटाउन भनिएको छ ।
नगरपालिकाले यस अघि भदौ १७ गते देखि ७ दिन भित्र सडकको अतिक्रमण हटाउन सूचना जारी गरेको थियो ।

सो सूचना बमोजिम सडकमा राखिएका ठेलागाडा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरेको प्रति नगरपालिकाले धन्यावाद समेत दिएको छ ।
यसैबिच नगरपालिकाले अत्तरिया बजार क्षेत्र भित्र नाला अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन भने ९० दिने अवधि दिएको छ ।
सूचनामा उक्त अवधिमा स्वस्फुर्त रुपमा नाला अतिक्रमण गरी निर्माण गरिएका घर तथा अन्य संरचना नहटाए नियमानुसार कारवाही गरिने जनाइएको छ ।