अत्तरिया – कैलालीको अत्तरियामा बजारमा अनुगमन गरिएको छ । दशैतिहार नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी र म्याद गुज्रिएका सामग्रीहरुको बेचविखन रोक्न गोदावरी नगरपालिकाले अनुगमन गरेको हो ।

नगरउपप्रमुख शारदा रोकाया सहितको टोलीले बुधबार १४ वटा पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा केही पसलहरुबाट अखाद्य वस्तुहरु फेला परेको नगरपालिकाको पशु सेवा शाखाका कर्मचारी टेक बहादुर शाहुले बताए ।

उनले अनुगमनका क्रममा ६ लिटर रियल जुस, आधा लिटरका ३ बोतल तोरीको तेल, १० बट्टा बदाम जुस, करिब ५ केजी काजु, किसमिस लगायतका सामग्री, १ पाकेट सुर्ति, ५ पाकेट विस्कुट, ६ पाकेट मिक्स मसला, ४ केजी अचार र १२ ग्राम बदाम फेला परेको बताए ।
उनले पसलहरुबाट फेला परेका अखाद्य बस्तुहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका पदाधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, नगरपालिकाका विषयगत शाखाका प्रतिनिधिहरु र उपप्रमुख रोकायाको रहोबरमा नष्ट गरिएको बताए ।
उनले बजारमा हुने कालोबजारी र अखाद्य बस्तुहरुको बिक्रिवितरण रोक्न नगरपालिकाले अनुगमनलाई निरन्तरता दिने समेत बताए ।