अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० मा निर्माण सम्पन्न भएको चाक्लेखोला पुलको आज उद्घाटन गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकारका भौतिक योजना मन्त्री दीर्घ बहादुर सोडारीले पुलको एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
पुलको उद्घाटन गर्दैै मन्त्री सोडारीले तत्कालिन गोदावरी गाविस र मालाखेती गाविसको टुटेको कडिलाई जोड्ने काम पुलले गरेको बताए । उनले सरकारले निर्माण गरेको पुल जनतालाई हस्तान्तरण गरेकाले अब यसको सुरक्षा स्थानीय जनताले गर्नुपर्ने बताए ।
‘चाक्लेखोला पुलको धेरै ठूलो कहानी छ । पानी आएपछि खोलामा पानी आउँदा बिरामी, सुत्केरीलाइ अस्पताल लैजान नै समस्या थियो’ उनले भने ‘अब प्रदेश सरकारले यस पुल भएर अत्तरिया फल्डुडे जोड्ने सडकको काम पनि अगाडी बढाएको छ । यस बर्ष मात्रै साढे १० करोड बजेट विनियोजन गरेका छौ ।’
उनले ओलानी क्षेत्रको विकासका लागि प्रदेश सरकार सधै संवेदनशिल भएको बताए । उनले चालु आर्थीक बर्षमा पनि धेरै योजना प्रदेश सरकारमार्फत ओलानी क्षेत्रमा बजेट विनियोजन गरिएको बताए ।
‘यो प्रदेशको राजधानीको ओझेल परेको क्षेत्र हो । अब यो क्षेत्र सबैभन्दा राम्रो क्षेत्र बन्नेछ’ उनले भने ‘बाटोघाटो, सिचाई, खानेपानी बनाउन सकेमा यो क्षेत्रमा राम्रो बन्छ ।’
उक्त पुल प्रदेश सरकार पुर्वाधार विकास कार्यालको १ करोड ७२ लाख १ हजार ७ रुपियाँमा निर्माण गरिएको हो । पुल निर्माणका लागि २०७७ साल असारमा जय धनन्जय/रोहित जेभि बर्दिया संग ठेक्का सम्झौता गरिएको थियो । पुलको २०७७ असोज १८ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए ।
२६.१ मिटर लम्बाई भएको सो पुलको बिच भागको चौडाई ६ मिटर र २ दशमलव ४ मिटर चौडाईको किनारामा फुटपाट रहेको छ । १८ महिनामा निर्माण गर्ने भनिएको पुल कोरोना महामारीका कारण केही ढिलो गरि सम्पन्न भएको हो ।
सम्बन्धित समाचार : लेखराज भट्टको भ्रममा नपर्नु होला : मन्त्री सोडारी