कञ्चनपुर – कानुन अनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न पाइँदैन । शुक्लाफाँटा नगरपालिकामा भने बालविवाह गरी बच्चा जन्माउने किशोरीको संख्या बढ्ने क्रममा छ ।
अभिभावकको सहमतिमा हुने बालविवाह घटे पनि सामाजिक सञ्जालको माध्यमबाट चिनजान गरी प्रेमविवाह गर्ने क्रम बढेको छ । बालविवाहका कतिपय मुद्दा प्रहरीसम्म पुग्ने गरेका छन् ।
प्रहरीमा पुगेका बालविवाहका मुद्दा दर्ता गरी कानुनी प्रक्रियामा समेत लैजाने गरिएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले चालूआवमा एक बालविवाहको मुद्दा दर्ता भै कानुनी प्रक्रियामा रहेको बताए ।
‘बालविवाहका मुद्दा आए तुरुन्तै दर्ता गरी कानुनी प्रकृयामा लैजाने गरिन्छ उनले भने विद्यमान कानुनविपरीत बालविवाह गराईएमा तीन वर्ष कैद र जरिवानाको व्यवस्था गरिएको छ । त्यस्तो विवाह बदरसमेत हुन्छ ।’
बालविवाह गरेर घरबाट भागेका किशोर किशोरीका अभिभावकले प्रहरीमा घरबाट हराएकाले खोजतलासका लागि निवेदन दिने गरेका छन् । प्रहरीले हराएका किशोरकिशोरीको खोजतलास गरी अभिभावक जिम्मा लगाउने गरेको छ । बालविवाह गरेको भनेर कसैले पनि प्रहरीमा उजुरी दिँदैनन् । भागेर विवाह गर्ने किशोरकिशोरीलाई अभिभावकले आश्रय दिँदा बालविवाह न्यूनीकरण गर्न समस्या भएको नसकेको वडा नं १२ का अध्यक्ष नवलसिंह रानाले बताए ।
‘बालविवाह न्यूनीकरणका लागि कानुन बनेको छ’, उनले भने, ‘व्यावहारिक पक्ष हेर्दा अधिकांश बालविवाह गर्नेहरूले उन्मुक्ति पाइरहेका छन् ।’ उनका अनुसार यसरी गरिने विवाह लामो समय सम्म टिक्दैन । १४ देखि १७ वर्षको उमेरमा गरिने विवाह २० वर्षको उमेर नपुग्दै सम्बन्ध विच्छेदमा पुगेर टुंगिने गरेको छ ।
‘उमेर नपुगिकनै गरिने बालविवाहले पार्ने दीर्घकालीन असरबारे अभिभावकले जानकार हुनुपर्छ’, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, ‘बालविवाह गरी २० वर्ष अघि नै बच्चा जन्माउनुआमा र शिशुका लागि घातक हुन सक्छ, यस्तो अवस्थामा दुवै जनाको ज्यान जान सक्छ ।’
२० वर्ष मुनिका किशोरीमा प्रजनन अंगको पूर्ण रूपमा विकास भइनसकेको हुने स्वास्थ्यमा गम्भीर असर पुग्ने भट्ट बताउँछन् । पारिवारिक जिम्मेवारी थपिने भएकाले शिक्षा र रोजगारीका अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउने उनको भनाइ छ ।
‘सानै उमेरमा बच्चा जन्माए बच्चाको तौल कम हुने, रगतको कमी भै एनिमिया हुने, सामान्य किसिमले प्रसूति नहुने हुन सक्छ’ उनले भने, ‘बच्चा पाउने किशोरीमा नैराश्य उत्पन्न हुने,आत्मबल कम हुने, बच्चा र आमामा दीर्घकालीन स्वास्थ्य जटिलता देखिन सक्छ ।’
उनका अनुसार आब ०७८÷७९ मा नगरपालिकामा रहेका बर्थिङ सेन्टरमा एक हजार ६३३ गर्भवतीले जाँच गराएका थिए । गर्भ जाँच गराउन पुगेका ११५ जना २० वर्षमुनिका रहेका थिए । गर्भजाँच गराउन आउनेमा १६ वर्ष देखि १७ वर्ष मुनिका रहेको उनले बताए ।
जटिल प्रकृतिका शल्यक्रिया गराउने अवस्थाका २५ जना र बर्थिङ सेन्टरमा गर्भ जाँच हुन नसक्दा अन्यत्र पठाइएका ११ जना थिए । आब ०७७÷७८ मा सानै उमेरमा बच्चा जन्माउना लागि बर्थिङ सेन्टर पुग्नेको संख्या ५५ थियो ।
नगरपालिकाका स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन गराउन आएका ११६ जनामध्ये एक किशोरी पनि थिइन् । अनिच्छित गर्भपतनका लागि उनी स्वास्थ्य चौकी आएको स्वास्थ्यकर्मीले बताए ।