धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ बारे स्रष्टाहरुले विमति जनाएका छन् । कुलपति, सहकुलपति र सदस्य सचिवको मातहतमा रहेर उपकुलपतिले प्रज्ञा प्रतिष्ठानको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नु पर्ने तथा शैक्षिक योग्यता, उमेर, कार्यानुभव लगायतका अव्यवहारिक एवम् अमूर्त सीमा निर्धारण गरेर उपकुलपति चयन गर्ने प्रावधानप्रति आफूहरुको विमति रहेको उनीहरुले जनाएका छन् ।

विज्ञप्ति जारी गर्दै स्रष्टाहरुले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपति, सहकुलपति, उपकुलपति र सदस्यसचिव लगायत सबै पदमा स्रष्टाहरूबाटै नियुक्त हुने व्यवस्था गर्न माग गरेका छन् । अहिलेको ऐनमा उपकुलपति हुन कुनै विषयमा स्नातकोत्तर उत्तीर्ण हुनु पर्ने भनिएको उल्लेख गर्दै उनीहरुले यो व्यवस्था स्रष्टाको हितमा नरहेको र व्यावहारिक समेत नभएको जनाएका छन् ।

ऐनमा उपकुलपतिको उमेर ४० वर्ष पुरा भै ६५ वर्ष ननाघेको हुनुपर्ने भनिएकोमा पनि आपत्ति जनाउँदै उनीहरुले उमेरको हदबन्दी हटाउन माग गरेका छन् ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको ऐन संशोधन गर्ने सन्दर्भमा – संगीत तथा नाट्य, ललितकला एवम् भाषा साहित्य विधाबाट ३/३ जना प्रतिनिधि रहने गरी विज्ञ समूह चयन गर्न, स्रष्टाहरूको अपमान हुने गरी ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ बनाएकामा सुदूरपश्चिम प्रदेश सरकारले आत्मालोचना गर्नुपर्ने माग पनि उनीहरुले अघि सारेका छन् ।
यसरी विज्ञप्ति जारी गर्नेमा नन्दकृष्ण जोशी, नरेन्दरराज रेग्मी, यज्ञराज उपाध्याय, भोजराज भट्ट, लाल बहादुर थापा, राजाराम भाट लगायत छन् ।
