बैतडीमा वर्षाले बन्द भएका सडक खुलेनन्

बैतडी – वर्षाले बन्द भएका बैतडीका ग्रामीण सडक अझैसम्म खुलेका छैनन । वर्षायाम सुरु हुनासाथ जिल्लामा सबैजसो ग्रामीण सडकहरू बन्द भएका थिए । स्थानीय तहले जथाभावी खनेका सडकहरू वर्षा सुरु हुनासाथ बन्द भएर गाडी नचल्ने भइसकेका थिए ।

maya metro hospital

पञ्चेश्वर गाउँपालिकामा वर्षायाम सुरु हुनासाथ बन्द सडकहरू अझै नखुलेका स्थानीय मोहन बहादुर चन्दले बताए । उनका अनुसार कुलाउ–डिम्बरघाट, सेरी–बैसेक लगायतका पालिकाका ग्रामीण सडकहरू ठप्प छन । यसले गर्दा स्थानीयलाई पैदल हिँडेर आवतजावत गर्नुपर्ने बाध्यता भएको छ । ‘बिरामी पर्दा पनि गाह्रो भएको छ । बोकेरै लैजानुपर्ने अवस्था छ,’ उनले भने, ‘गाउँघरमा सडक पुगेर सुविधा पाएका स्थानीय वर्षा सुरु भयो कि गाडी चढ्नै पाउँदैनन ।’

दोगाडकेदार गाउँपालिकामा पनि ग्रामीण सडकहरू सबै बन्द भएका वडा नम्बर–२ का स्थानीय अर्जुनबहादुर कुँवरले बताए । पालिकाका खोचलेक–सित्तड, खोचलेक–कटौजपानी, खोचलेक–ढिक्गाड हुँदै रिम सडक ठप्पै भएका उनले बताए ।

attariya hospital

यस्तै खोचलेक–चडेपानी, ढिक्गाड–धमाली हुँदै गडगडे जाने सडक पनि बन्द रहेको उनले बताए । लामो समयसम्म सडकहरू बन्द हुँदा स्थानीय समस्यामा परेका उनको भनाइ छ । उनले भने, ‘ग्रामीण भेगमा त सडकको सुविधा पुग्यो भनेर खुसी मान्नु पनि बेकार छ । सडक कमै सञ्चालनमा आएर धेरै दिन बन्द हुन्छन । आजभोली हिँडेरै ओहोरदोहोर गर्नुपरिरहेको छ ।’ सडक बन्दले गर्दा सबैभन्दा बढी समस्या बिरामी पर्दा हुने गरेको उनले सुनाए ।

पुरचौडी नगरपालिकाभित्रका वडा जोड्ने सबै ग्रामीण सडकहरू पनि बन्द रहेका वडा नम्बर–५ का स्थानीय कर्णबहादुर बोहराले बताए । वर्षाले गर्दा नै सडकहरू बन्द भएका उनले बताए । उनले भने, ‘पानी परेपछि अधिकांश सडकहरूमा गाडी चल्न सक्दैनन । साँझ पानी परेपछि बिहान चल्दैनन । बिहान पानी परे साँझ चल्दैनन ।’

बन्द भएका ग्रामीण सडकहरू खुलाउने कार्य सुरु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द बताउँछन । ‘वर्षात्मा जति बनाए पनि भत्किहाल्छन्,’ उनले भने, ‘त्यसैले ढिलो गरी बनाउन थालेका छौं ।’

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.