नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको पछिल्लो घटना क्रमका विषयमा छलफल आकस्मिक बैठक बोलाएको छ । क्यानको मुख्य कार्य सम्पादन टोलीले पछिल्लो विषयमा छलफल गर्न आज साँझ छलफल गर्ने भएको क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिएका छन ।
‘अध्यक्ष बाहिर हुनुहुन्छ । उहाँ बेलुका सम्म आउनु हुन्छ । क्यानको बैठक भन्दापनि मुख्य कार्यसम्पादनको टोलीको छलफल हुनेछ,’ मल्लले भने ।
मल्लले सन्दीपको बर्खास्तिको विषयमा भने अहिले कुनै कुरा नहुने बताएका छन् । ‘प्रहरीमा उजुरी परेको छ । छानविन भएर केही तथ्य आउछ होला अनि क्यानले निर्णय गर्नेछ,’ मल्लले भने ।
सन्दीप क्यारेवियन लिग खेल्न हाल वेष्ट इन्डिजमा छन् । वेष्टे इन्डिज जानु एक दिन अघि आफूलाई विभिन्न प्रलोभन देखाई पिंगलास्थानको एक होटलमा लगेर सन्दीपले बलात्कार गरेको एक नाबालिगले आरोप लगाएकी छन् ।
ती पीडित नाबालिगले मंगलबार नै प्रहरीमा उजुरी दिइसकेकी छन् ।