बैतडी – आगामी मंसिरमा हुने प्रदेश र संघीय चुनावका लागि नेकपा एमालेले बैतडीबाट उम्मेदवारको टुंगो लगाएको छ । एमालेले सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको हो ।
जिल्लाको पाटनमा बसेको जिल्ला कमिटी बैठकले संघीय सांसदमा दामोदर भण्डारीलाई उम्मेदवार बनाउनका लागि सिफारिस गरेको छ । भण्डारी एमालेका सुदूरपश्चिम अध्यक्ष समेत हुन् । उनी अहिले पनि संघीय सांसद छन् । भण्डारी एमालेबाट एकल उम्मेदवार बनेका हुन् ।
यस्तै प्रदेशका उम्मेदवार पनि एमालेले निर्विरोध रुपमा छानेको छ ।
प्रदेश सभा क्षेत्र नम्बर (क) बाट एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पाल र प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज लिलाधर भट्टको नाम सिफारिस गरिएको एमालेका जिल्ला कमिटी सचिवालय सदस्य निर्मल पाण्डेयले बताए । समानुपातिक तर्फ भने कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
आकांक्षी धेरै भएकाले समय लागेको सचिवालय सदस्य पाण्डेयले बताए । प्रत्यक्षतर्फ आकांक्षी कम भएकाले सहज भएको हो । उनले भने, ‘पार्टीले अन्तरपार्टी निर्देशिका जारी गरेको थियो । सबैको दाबी गर्ने मापदण्ड नपुग्ने भएकाले ३ जनाको नाम सर्वसम्मत भयो । स्थानीय तहमा पराजित भएकाहरूले पनि उम्मेदवार बन्न नपाउने थियो ।