अत्तरिया – अपेक्षित रुपमा काम गर्न नसकेको भनेर बेला बेला प्रदेश संरचना र सरकारको आलोचना हुने गरेको छ । जसले गर्दा हाल संघियताकै बिरोध गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । जनस्तरमा संघियताको आलोचना बढेपनि नेताहरुमा भने आकर्षण बढ्दो छ । जसको पुष्टि आसन्न निर्वाचनमा प्रदेश सभा तर्फ चुनाव लड्ने नेताहरुको तछाडमछाडले पनि गर्छ ।
सरकारले मंसिर ४ गते घोषणा गरेको प्रनिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागि हुन अहिले बिभिन्न दलहरुले उम्मेदवार सिफारिस गरिरहेका छन । जसमा अहिले प्रतिनिधि सभा भन्दा पनि प्रदेश सभाका आकांक्षी धेरै देखिएका छन । हाल नेपालमा एक प्रतिनिधि सभामा २ प्रदेश सभा निर्वाचन क्षेत्र कायम गरिएका छन ।
प्रदेशको राजधानी कैलाली क्षेत्र नम्बर ४ मा पनि प्रदेश मै आकांक्षी धेरै देखिएका छन । एमालेबाट यस क्षेत्रबाट प्रतिनिधि सभाका लागि लेखराज भट्टको नाम एकल रुपमा सिफारिस भएको छ भने प्रदेशमा भने आधा दर्जन बढी नेता आकांक्षी छन । कांग्रेसले पनि आसन्न निर्वाचनका लागि यस क्षेत्रबाट आकांक्षीको नाम सिफारिस गरिसकेको छ । जसमा प्रतिनिधि सभामा ६ जनाको दावेदारी रहेको छ भने प्रदेश सभा ‘ख’ मा ८ जनाले दावी गरेका छन ।
कैलाली– ५ बाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा देउवाको नाम एकल रुपमा सिफारिस गरेको छ । सोही निर्वाचन क्षेत्रको ‘क’ प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरिएको छ ।
नेपाली कांग्रेस कञ्चनपुरले ३ ओटै क्षेत्रका लागि उम्मेद्वार सिफारिस गरेको छ । जसमा प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर १ बाट दिवानसिंह विष्टको नाम सिफारिस गरिएको छ भने प्रदेशसभा ‘क’ बाट ९ र ‘ख’ बाट ५ जनाको नाम सिफारिस गरिएको छ ।
यसैगरी क्षेत्र नम्बर २ मा कांग्रेसले प्रतिनिधिसभाका लागि एनपी साउद, हरि बोहरा र प्रेम बलायरको नाम सिफारिस गरिएको छ । सोही क्षेत्रको प्रदेशसभा ‘क’ बाट १० जना र ‘ख’ बाट भने १ जनाको नाम सिफारिस भएको छ । प्रदेश सभा ‘ख’ मै समानुपातिकतर्फ भने २१ जनाको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ३ मा कांग्रेसले प्रतिनिधिसभाका लागि रमेश लेखक र प्रेमबहादुर विष्टको नाम सिफारिस भएको छ । सोही क्षेत्रको प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ १६ जना र ‘ख’ मा ८ जना नाम सिफारिस भएको काँग्रेस कञ्चनपुरका सचिव भीम भट्टले बताएका छन ।
२ निर्वाचन क्षेत्र रहेको अछामबाट एमालले पनि आइतबार प्रतिनिधि सभा र प्रदेश सभाका आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । जसमा प्रतिनिधि सभा तर्फ २ निर्वाचन क्षेत्रमा २ जनाको मात्रै नाम सिफारिस गरिएको छ भने ४ प्रदेश सभाका लागि भने २३ जनाको नाम सिफारिस भएको छ ।
एक निर्वाचन क्षेत्र रहेको बझाङबाट कांग्रेसले प्रतिनिधि सभाका लागि ८ जनाको नाम सिफारिस गरिएको छ । बझाङको प्रदेश सभा ‘क’ का लागि ३१ तथा प्रदेशसभा ‘ख’ का लागि २४ जनाको नाम सिफारिस गरेको छ । ‘क’ मा प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ २३ जनाको नाम सिफारिस गरिएको हो । यसैगरी प्रदेशसभा ‘ख’बाट प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरिएको छ ।
बिभिन्न दलहरुले हाल जिल्लाबाट प्रदेशमा उम्मेदवारहरुको नाम सिफारिस गर्ने क्रम जारी रहेको छ ।