भौतिक पुर्वाधार निर्माण भन्नाले सडक, भवन, पर्खाल लगायतका विभिन्न पुर्वाधारहरुको निर्माणलाई बुझाउँछ । भौतिक पुर्वाधार निर्माणले देशको विकास देखाउछ, समृद्धि देखाउछ । भौतिक पुर्वाधार निर्माण गर्दा निश्चित मापदण्डको आधारमा रही गनुपर्ने हुन्छ । एउटा विकासले अर्काे कुरामा अवरोध वा बाधा नपु¥याओस भन्ने कुरामा ध्यान दिन आवश्यक हुन्छ ।

एक अर्कामा जोडिएका यस्ता कुराहरुलाई सही रुपमा सम्पन्न गर्न सके मात्रै भौतिक पुर्वाधार निर्माणको महत्व सावित हुन्छ । केही ठूला योजनाहरु निर्माण गर्दा नेपाल सरकारको मापदण्डका आधारमा वातावरणीय प्रभाव मुल्यांकन गरिन्छ । किनकी त्यसले भविष्यमा समस्या सिर्जना नगरोस् । त्यस्तै सामान्य किसिमका भौतिक संंरचना निर्माण अघि पनि सरकारकै मापदण्डको आधारमा रही प्राविधिकको सल्लाह र रहोबरमा कार्य गरिन्छ । यसरी गरिएका भौतिक पुर्वाधार निर्माणहरु दिगो हुन्छन र समस्या उत्पन्न गर्ने खालका हुदैनन् ।


तर केही भौतिक पुर्वाधारहरु भने योजना बिना नै निर्माण गरिन्छन, जसले समस्या सिर्जना गर्ने गर्दछन । त्यस्तै भौतिक पुर्वाधार निर्माणको घटनाका कारण गोदावरी नगरपालिका – १ विजयनगरका कतिपय परिवारले राती सुत्न पाएनन् । वर्षाैदेखि सोही ठाउँमा बस्दै आएका उनीहरुलाई भौतिक पुर्वाधारको कारण भने पहिलो पटक समस्या उत्पन्न भएको हो । नगरपालिकाले गत आर्थिक वर्षमा निर्माण गरेको कालोपत्रे सडकका कारण त्यहाँका बासिन्दाहरुलाई समस्या भएको थियो । यो कुरा सुन्दा आश्चर्य लाग्न सक्छ, कालोपत्रे गरिएको सडकका कारण कसैलाई समस्या हुन्छ भन्नु मुर्खता हो ।

तर सो टोलमा कालोपत्रे सडककै कारण विपत्ति आएको छ । दरअसल भएको के थियो भने, बिहिबार राती पानी प¥यो । पानीको निकास नहुँदा सडकबाट आएको पानी स्थानियका घरमा पस्यो । जसले गर्दा स्थानीयहरुले रातभरी अर्काको घरमा बास माग्नुपर्ने बाध्यता आईलाग्योे । नाली बिना नै नगरपालिकाले सडक कालोपत्रे गर्दा पानीको निकास नभई उक्त पानी स्थानीयको घरभित्र पसेको थियो । यसअघि उक्त सडकमा नाली थियो, त्यसैले पानी निकाश भैरहेकै थियो, तर नगरपालिकाले सडक चौडा गर्ने भन्दै भएको नाली पनि पुरेपछि अहिले उक्त ठाउँमा डुबानको समस्या आएको छ ।
निश्चित योजना नै नबनाई जथाभावी रुपमा विकास गर्ने भन्दै गरीने क्रियाकलापले अन्तमा नागरिकलाई नै हानी गर्छ । त्यस्ता योजनाहरु पास गर्ने प्राविधिकहरुले पनि त्यसको समस्याको बारेमा बुझी त्यस्ता भौतिक पुर्वाधारहरुको निर्माणमा रोक लगाउनुपर्दछ । नागरिकको सहजताका लागी गरिने कार्यले नागरिकलाई नै असहज बनाउछ भने त्यस्तो कार्य नहुनु नै उपयुक्त हुन्छ ।
नागरिकको हितका लागी गरिने कार्यलाई प्रोत्साहन दिई समस्याग्रस्त स्थानमा समाधानको बाटो देखाउनु नगरपालिकाको दायित्व हुन आउछ । योजना बिनाका भौतिक पुर्वाधारहरुले भविष्यमा खतरा निम्त्याउने हुँदा निर्माण अगाडी नै निश्चित योजना बनाई भविष्यमा पर्न जाने असरको अवस्था हेरी कार्य प्रकृया सुरु गर्नुपर्दछ ।