डडेल्धुरा – डडेलधुरा कांग्रेस आगामी निर्वाचनमा एक्लै होमिने भनेसँगै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा सत्ता गठबन्धनको विवाद चरम उत्कर्षमा पुगेको छ । केन्द्रको निर्णय लत्याउँदै एक्लै चुनाव लड्ने रणनीति बनाएपछि गठबन्धनमा आबद्ध अन्य दल कांग्रेसविरुद्ध लाग्ने तयारीमा छन् । यसका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला नेताहरु छुट्टाछुट्टै तथा सामूहिक छलफलमा छन् ।
विवाद छलफलमा मात्रै सीमित नभई नेकपा एकीकृत समाजवादीले त आफ्नो पार्टीका छुट्टै उम्मेदवारको सिफारिस समेत केन्द्रमा पठाइसकेको छ । जसमा एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट निरा जैरु र नरबहादुर बिष्टको नाम सिफारिस गरिएको छ भने प्रदेश (क) मा प्रेम साउद र (ख) मा डा. तारा जोशीको नाम सिफारिस भएको नेकपा एकीकृत समाजवादी डडेलधुराका अध्यक्ष कवीन्द्र बिष्टले जानकारी दिए ।
उनले भने, ‘आफ्नै पार्टी सभापतिको गृहजिल्ला भएका कारण डडेलधुरा कांग्रेसले हामीमाथि दादागिरी देखाएको छ । कांग्रेसले स्थानीय तहको निर्वाचनमा पनि केन्द्रको निर्णय लत्याएको थियो । आगामी संघ र प्रदेशको निर्वाचनमा पनि लत्याउने जनाउ दिएको छ । यो हामी सहेर बस्दैनौँ ।’
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विकास भट्टले पनि कांग्रेसविरुद्ध कसरी अघि बढ्ने भनेर छलफल भइरहेको बताए । भट्टले भने, ‘कांग्रेस छुट्टै पार्टी हो, उसको निर्णय उसका लागि हुन्छ, हामी हाम्रै निर्णय लिएर चुनावमा जान्छौँ, यद्यपि केन्द्रको निर्णय हामी मान्छौँ तर कांग्रेस एक्लै लड्न तयार हुन्छ भने माओवादी पनि एक्लै लड्न सक्छ ।’
कांग्रेस (क) र (ख) क्षेत्रीय समितिले देउवालाई सर्वसम्मत सिफारिस गर्दै गर्दा बी.पी कांग्रेसले पनि उम्मेदवार उठाउने तयारी गरेको छ । बी.पी कांग्रेसको नेतृत्व गरेका कर्ण मल्लले भने– ‘हामी संघ र प्रदेशमा उम्मेदवार उठाउँछौँ र हाम्रो जित निश्चित छ ।’
स्थानीय तहको चुनावमा पनि अधिकांश जिल्लामा जस्तै डडेलधुरामा पनि गठबन्धनको केन्द्रको निर्णय उल्लंघन भएको थियो भने कांग्रेसविरुद्ध बी.पी कांग्रेस भिडेको थियो । अमरगढी वडा नम्बर ८ र गन्यापधुरा वडा नम्बर १ मा बी.पी कांग्रेसले कांग्रेसलाई पराजित समेत गरेको थियो ।
संघ र प्रदेशमा पनि उम्मेदवार उठाउन छलफल भइरहेको मल्लले बताए । देउवाकै क्षेत्रबाट स्वतन्त्र उम्मेदवार सागर ढकालले पनि उठ्ने तयारी गरेका छन् । डडेलधुरा कांग्रेसका सचिव हेमराज चटौतले केन्द्रको निर्णयको सम्मान गर्दै कांग्रेस एक्लै लड्नुपर्नाको विभिन्न कारण रहेको बताउँछन् ।
कांग्रेस एक्लै बलियो भएको स्थानमा अन्यको साथ लिन आवश्यक नभएको उनी बताउँछन् । बीपी कांग्रेस, अन्य दल वा स्वतन्त्र उम्मेदवारले देउवालाई जति नै चुनौती दिए पनि जित देउवाकै भएको उनको भनाइ छ ।
सचिव चटौतले भने, ‘कर्ण मल्ल १० बर्ष जिल्ला सभापति भएर काम गरेको व्यक्ति हो, उहाँ लामो समयदेखि पार्टी सभापति देउवाको घर परिवारको सदस्य जस्तै भएर बसेको मान्छे छुट्टिएर जानुभयो ।’ मल्ल प्रदेशसभा सदस्य पनि थिए ।
२०७४ को चुनाव मार्फत सुदुरपश्चिम प्रदेशसभाका सदस्य बनेका मल्लले पार्टीको विधानविपरीत कार्यशैली देखाएको भन्दै कांग्रेसले उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो । आफ्नै गृहजिल्ला कांग्रेसले समेत केन्द्रको निर्णय नमानेर खिल्ली उडाइरहेका छन् भन्ने गठबन्धन बाध्यता कि आवश्यकता भन्ने प्रश्न उव्जिएको छ ।
स्थानीय तहको चुनावदेखि नै स्वार्थको लागि मात्रै गठबन्धन बनाइएको आरोप छ । गठबन्धनमा सत्ता नेतृत्वकर्ता दल कांग्रेस बढि हावी भएको भन्दै विशेष गरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी रुष्ट छन् भने कांग्रेसकै नेता शेखर कोइराला पक्ष पनि गठबन्धनको विरोधमा छ ।
आसन्न निर्वाचनमा सिट बाँडफाँडमा पार्टीमा सम्मानजनक स्थान नपाए प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गर्ने रणनीति पनि नेता कोइराला समूहले बनाएको छ । सत्ता गठबन्धनमा शीर्ष नेता व्यवस्थापन असहज बनेको कारण सिट बाँडफाँडको मोडालिटी समेत बन्न सकेको छैन ।
स्थानीय तहको निर्वाचनमा तल्ला तहमा केन्द्रको निर्णय अधिकांश स्थानमा लागु नभएजस्तै डडेलधुरामा पनि हुन सकेन । सत्ता गठबन्धनका दलहरु एक्लै एक्लै चुनावमा लडेका थिए । जिल्लाका सातवटा स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्रले दुई वटा स्थानीय तहमा जित हासील गरेको छ भने बाँकी सबै कांग्रेसले बाजी मारेको छ ।
प्रतिनिधिसभा निर्वाचनमा देउवाको सहज जित देखिए पनि आन्तरिक किचलो छताछुल्ल भएको छ । देउवाको आफ्नै स्थानीय तह गन्यापधुरा गाउँपालिका वडा नम्बर एकमा विद्रोही कांग्रेस अर्थात् बी.पी कांग्रेसले जितेको छ । वडा नम्बर एकमा बी.पी कांग्रेसका नरेशराज भण्डारीले ६ सय ७३ मत ल्याएर कांग्रेसका चन्द्रबहादुर देउवालाई हराएका छन् । देउवाले ५ सय ४४ मत ल्याएका थिए ।
चुनावी सिट बाँडफाँडको लागि बालुवाटारमा भइरहेको रस्साकस्सीबाट सत्ता गठबन्धनका दलहरुलाई गाल्न सभापति देउवाले आफ्नै गृहजिल्लामा निर्णय उल्लंघन गर्न लगाएको आकलन पनि भएका छन् ।