अत्तरिया – कैलालीको चुरे गाउँपालिका खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जबराले निर्माण गरेको उक्त ऐतिहासिक संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै गएको हो । राणाकालीन पुरातात्विक दरबार जीर्ण हुँदै गइरहेको भए पनि त्यसको संरक्षणमा सरोकारवालाले ध्यान दिन सकेका छैनन् । चुरे गाउँपालिका खैरालाका ७५ वर्षीय गणेश ओली ऐतिहासिक गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गइरहेको बताउनुहुन्छ ।
ऐतिहासिक गर्भा दरबारमा लगाइएको टिनको छाना हावाले उडाइसकेको छ । पर्खाल भत्किसकेको छ । दरबार अहिले प्रयोगविहीन बनेको छ । कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन सुरू गरेको भए पनि अहिलेसम्म यसको संरक्षणमा कसैको ध्यान नगएको ओलीले बताउनुभयो ।
दरबार संरक्षण गर्नसके पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि यसको संरक्षण र पर्यटकीयरूपमा विकास गर्न पहल भएको छैन । दरबार दिन प्रतिदिन भत्किने क्रममा छ ।
दरबारको कतिपय भाग भत्किसकेको छ । सरोकारवालको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको क्षेत्र खण्डहरमा परिणत हुँदै गएको स्वयं जनप्रतिनिधि बताउँछन् ।
चुरे गाउँपालिका–३ का अध्यक्ष टेकबहादुर शाहले दरबारको संरक्षणमा कसैको ध्यान नगएको बताउनुभयो । मास पिसेर त्यसबाट चुना मिसाइ बनाइएको गर्भा दरबारमा ८३ झ्याल, ५३ ढोका छन् । दश रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन खण्ड र तीनतले छ ।
सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुइँतले सुरुङसमेत बनाइएको छ, जुन अहिले पुरिँदै गएको छ । दरबारको संरक्षणका लागि स्थानीय सरकारले विशेष योजना बनाइरहेको चुरेका कार्यवाहक अध्यक्ष कमलबहादुर साउदले बताउनुभयो ।
राणा शासनकालमा निकै चहलपहल रहने गरेको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो । खड्क शमशेरका छोरा बहादुर शमशेर पछि गर्भा दरबार बहादुर शमशेरका साहिला छोरा तेजप्रकाश शमशेर जबराको भागमा पर्यो । राणा शासनको अन्त्यपछि पनि शासक बस्ने गरेको उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि बास नबसेको बताइन्छ । करिब नौ दशक पुरानो राणाकालीन उक्त दरबार संरक्षण गर्नसके पर्यटकीय क्षेत्रकारूपमा समेत विकास गर्न सकिने सम्भावना छ ।
कैलाली सदरमुकाम धनगढीबाट ४५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने यस दरबारको प्रवद्र्धनमा सरकारले ध्यान दिए पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने र यसबाट स्थानीयको जीवनस्तरमा सुधार हुने प्रशस्त सम्भावना रहेको स्थानीय बताउँछन् ।
त्यस्तै डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल र वडा नं ६ सिलगढीस्थित नाचनथलीमा रहेको डोटी कोटभैरव दरबार तथा जोरायल गाउँपालिका–६ निरौलीमा रहेको पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका दरबारको उचित संरक्षण नगरिँदा अस्तित्व हराउन थालेको छ ।
दरबार संरक्षण गर्न केही पहल चालिए पनि खासै संरक्षण नहुँदा अस्तित्व हराउन लागेको स्थानीयवासीको भनाइ छ । दरबारको संरक्षण गर्ने भन्ने कुरोमात्रै सुनिए पनि खासै संरक्षण नगरिँदा पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका दरबार भग्नावशेषमा परिणत हुँदै गएको स्थानीय नयन कठायतले बताउनुभयो ।
डोटीको दरबार अर्थात् मूलगढ हालको सुदूरपश्चिम प्रदेशको डडेलधुरास्थित अजयमेरुमा थियो । त्यसलाई अद्यावधि अजयमेरकोट भनिन्छ । पहिला त्यहाँबाट नै डोटी राज्यको राज्यव्यवस्था सञ्चालन हुँदै आएकामा डोटेली राजा भूपति शाहीको शासनकालमा हालको दिपायलको पूर्वीभागतिर गनैर गौडा नामक डाँडामा राजदरबार अर्थात् कोट निर्माण हुन गई त्यहाँबाट नै डोटी राज्यको राज्यव्यवस्था सञ्चालन हुन थालेको स्थानीय बासिन्दा बताउँछन् । त्यसलाई अहिले भैरवकोट भनिन्छ ।
तत्कालीन डोटेली राजाको दरबारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएबाट दिनानुदिन जीर्ण हुन गई हाल भग्नावशेषका रूपमा रहेका छन् । सन् १४३८ देखि १४५० सम्म डोटी र कुमाउँको युद्धपछि त्रसित तत्कालीन राजा कल्याण मल्लले भैरवकोटमा राजधानी सारेको विभिन्न शिलालेखमा उल्लेख रहेको पाइन्छ ।
युद्धमा पराजयका कारण दीप शाही भारतको सिङ्गाही पसेकाले शरणमा आएका उहाँका भाई विष्णु शाहीलाई गोर्खालीको रजौटा बनाइयो । विष्णु शाहीपछि उहाँका जेठा छोरा पहाडी शाही ९द्वितीय० रजौटा भएका थिए । विष्णु शाही, पहाडी शाही ९द्वितीय०, बलदेव शाही, सुरजङ्ग शाह, शमशेरबहादुर शाह, पदमविक्रम शाह र मोहनविक्रम शाह विसं २०१८ मा ‘राज्य रजौटा’ ऐन जारी भएपछि यहाँका रजौटा समाप्त हुन गएका थिए । तत्कालीन अन्तिम रजौटाका रूपमा मोहनविक्रम शाह थिए ।
विसं २०१८ देखि रजौटा प्रथाको अन्त भए पनि डोटीको दिपायल राजपुरस्थित शाह खलकमा पुख्र्यौली जेठो छोरालाई आदरपूर्वक सम्मान दिइनुका साथै बडादशैँमा घरपरिवारका साथै खलकका बाल बयोवृद्ध सबैले उहाँका हातबाट टीका ग्रहण गर्ने र उहाँले पनि पारिवारिक तथा खलकको रीतिरिवाजको परिधिमा रहनुपर्ने र जसको अनुसरण नगरेमा खलक तथा परिवारले सम्मान नदिने प्रचलन अहिलेसम्म कायमै रहेको स्थानीय बताउँछन् ।
नेपाल एकीकरण पूर्वडोटी राज्यको राजधानी, गोर्खालीबाट परास्त भएपछि अर्थात् नेपाल एकीकरणपछि गोर्खालीको शक्ति सञ्चय तथा प्रशासकीय केन्द्रका रूपमा डोटी मोहडा गौडाको केन्द्र विसं २०१८ मा नेपाल अधिराज्यको राजनीतिक विभाजनअनुरूप डोटी सदरमुकाम र विसं २०३८ मा सुदूरपश्चिम विकास क्षेत्रको ९सेती महाकाली० विकास केन्द्रद्वारा प्रतिष्ठित हुँदै आएको हालको दिपायल सिलगढी नगरक्षेत्रले २०३८ सालमा नगरपालिका परिणत भएको भन्ने त्यहाँका स्थानीयवासीको भनाइ छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचन्थलीमा रहेको राणाकालीन दरबारको उचित संरक्षण नगरिँदा भत्किन थालेको छ । जिल्लाको ‘मल्लो ढोका’ भनेर चिनिने यो दरबार उचित संरक्षणको अभावमा भग्नावशेषमा परिणत हुँदैछ । राणा शासनकालमा हाल जिल्ला प्रशासन कार्यालय रहेको ठाउँलाई ‘तल्लो ढोका’ भन्ने गरिन्थ्यो भने ‘मल्लो ढोका’ दरबार बडा हाकिमको निवासका रुपमा प्रयोग हुने भएको थियो ।
करिब ४० कोठा रहेको सो दरबार संरक्षण अभावमा भत्किन थालेको छ । यो मल्लो ढोका वरिपरि कोत गार्ड, सुसारे निवास, मनोरञ्जन घर, पूजा घर निर्माण भएका छन् । घर पनि भत्किन थालेका छन् । बहादुर शमशेर राणा बडाहाकिम भएका बेला उक्त दरबार स्थानीय व्यक्तिलाई बिक्री गरिएको थियो । यो कहिले बिक्री भयो भन्ने पत्ता लाग्न सकेन तर बहादुर शमशेर विसं १९९० को दशकमा डोटी गौणामा भएको यहाँका बूढापाका बताउँछन् । करिब ४६ रोपनी जमिन त्यति बेला रु १० हजारमा सिलगढीका सुरत श्रेष्ठलाई बिक्री गरेको भन्ने सुनेको स्थानीयवासी सिद्धराज श्रेष्ठले बताउनुभयो ।
जिल्लाको जोरायल गाउँपालिका–६ निरौलीमा रहेको अर्को डोटेली दरबार निरौली दरबार उचित संरक्षण तथा संवद्र्धनको अभावमा रहेको छ । त्यो दरबार पनि दिनहुँ भत्किँदै गइरहेको हो । संरक्षणमा कसैले पनि चासो नदेखाएपछि यो दरबार भत्किँदै गएको निरौली बसोटीका स्थानीय बासिन्दा विवेक जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो कलात्मक शैलीको तथा पुराना राजाको पालामा बनेको दरबार भत्किँदै गएको छ, पुरातात्विक महत्व बोकेका यस्ता सम्पदाको संरक्षण गरिनुपर्ने हो तर यसमा कसैले चासो देखाएका छैनन् ।”
सन् १४३९ मा तत्कालीन निरैपाल राजाले आफ्नो शासनकालमा निर्माण गरेको यो दरबार नागी मल्ल राजाको शासनकालपछि खाली भएको र निरैपाल राजाका नामबाट पछि गएर यो ठाउँलाई निरौली नाम राखिएको भन्ने किंवदन्ती रहेको जोरायल–५ गड्सेराका बासिन्दा ध्वज देउवाले बताउनुभयो ।
निरौली गाउँभन्दा माथि अग्लो रमणीय डाँडामा रहेको यो दरबारको समयमै उचित संरक्षण तथा सम्वद्र्धन गरिए त्यहाँको ऐतिहासिक र पर्यटकीय विकास हुने स्थानीयवासी बताउँछन् । यो क्षेत्रमा तत्कालीन अवस्थामा मल्ल राजाले प्रयोग गर्ने मगराउ ९कुवा० पनि जीर्ण बन्दै गएको छ ।
जिल्लाको बडीकेदार गाउँपालिका बेर्छैनमा रहेको रिसेडी दरबारबाट राजा घोडामा चढेर निरौली दरबारमा आउनेजाने समयमा बीच बाटोमा घोडालाई दाना पानी दिने ढुङ्गा तथा फलामका तोपडा पनि संरक्षण नहुँदा टुट्फुट हुन थालेका छन् । स्थानीय समाजसेवी डिल्लीराज जोशीले भन्नुभयो, “संरक्षण अभावमा अहिले यहाँका पुरातात्विक महत्वका विभिन्न चिजबिज लोप हुने अवस्थामा पुगेका छन् ।”
निरौली दरबारको संरक्षणका लागि गाउँपालिकाले पहल गर्ने जोरायल अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञसँगको छलफल र स्थानीयको सुझावका आधारमा नै यसको संरक्षणका लागि पहल अगाडि बढाइनेछ ।” उचित संरक्षण तथा संवद्र्धन नगरिँदा बर्सेनि उक्त दरबार खण्डहरमा परिणत हुँदै गएको छ ।
रासस