आज गौरा पर्व मनाइँदै
अत्तरिया – भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व आज सुदूरपश्चिममा मनाइँदैछ । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा यो पर्व मनाउन शुरु गरिएको हो ।
गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, सामा सौँ, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर ब्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ ।
देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने भनाइ पनि रही आएको छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् ।
यो पर्वमा केराउ, जौ, मस्याङ, मास र गुराँसको दाना भाद्र शुक्ल पञ्चमीका दिन भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ । अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ । भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ ।
भाद्र शुक्ल अष्टमी अगाडि नै अगस्ति ऋषिको उदय भएको अवस्थामा भने भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिनमा गौरा पर्व मनाउनु पर्ने शास्त्रीय विधान रहेको छ ।
भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ ।
दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान दरसन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रत समेत गरिने धार्मिक नियम छ । यो दिनमा सुदूरपश्चिमबासीहरु देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् ।