खाेज्नुहाेस

तिन क्लिनिकमा प्रशासनको सिल

Image

बैतडी – संयुक्त बजार अनुगमन समितिले बैतडीका ३ वटा क्लिनिकलाई सिल गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा रहेको उक्त टोलीले नगरपालिका–१ गुरुखोलामा रहेको जयदुर्गे मेडिकल, गुरुखोलामै रहेको प्रकाश मेडिकल र दशथचन्द नगरपालिका–२ देहिमाडौँमा रहेको निङ्गलाशैनी फार्मेसीको क्लिनिक सिल गरेको हो ।

मापदण्ड विपरीत सञ्चालनमा रहेका ती क्लिनिकलाई सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। निङ्गलाशैनी फार्मेसीले अर्काको नामबाट फार्मेसी सञ्चालन गरेको र जयदुर्गे मेडिकल हल र प्रकाश मेडिकलले बिनाअनुमति क्लिनिक सञ्चालन गरेको पाइएकोले सिल गरिएको हो ।

attariya hospital
navjiwan hospital

उनले भने, ‘अहेव बस्ने मेडिकलहरूले क्लिनिक सञ्चालन गरेर बेड राखेको भेटिएको छ। भिडियो एक्सरे पनि मेडिकलमा राखेको, क्लिनिकका कर्मचारी नभएर क्लिनिक सञ्चालन गरेको, मेडिकलमा औषधि पनि फार्मेसी नपढेकाले बेचेको भेटिएकोले सिल गरेका हौं ।’

सिल गरिएका क्लिनिक सञ्चालकहरूलाई सात दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिँदै मेडिकलहरूमा तत्कालका लागि ताला लगाइएको छ । मेडिकलबाट अनुमति बिना जथाभावी राखिएका औषधि समेत बरामद गरिएको छ । यस्तै बजार अनुगमनका क्रममा विभिन्न ठाउँमा अखाद्य सामग्री समेत बरामद गरिएको र ती सामग्री नष्ट गरिएको छ ।

२५ वटा पसलबाट १८ हजार ६९० बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको हो । यस्तै दुईजना व्यापारीलाई ५ हजारका दरले जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चाडपर्व लक्षित बजार अनुगमन गरिरहेको संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ ।

maya metro hospital