अत्तरिया – राती ३ बजे मस्त निद्रामा सुतेकी पुनर चुनाराको सिरानीमै पानी पुगेपछि झसंग निद्रा खुल्यो । उठेर हेर्दा कोठाभरी पानी थियो । सुरुमा त उनी आस्चर्यमा परिन यती धेरै पानी घर भित्र कहाँबाट आयो भनेर । गोदावरी नगरपालिका – १ विजयनगरमा रहेको सो घरमा चुनारा बर्षौदेखि बस्दै आएकी छिन ।
तर, पहिलो पटक बर्षातको पानी घरभित्र पसेपछि ठूलै पानी परेको होला भनेर राती छिमेकीको घरमा सरण लिइन् । उनले भनीन ‘पानी संगै घर भित्र सर्प पनि पस्यो । राती जसोतसो ज्यान जोगाएर छिमेकीको घरमा रात काट्यौ ।’ उनले पानीको निकास नहुँदा अझै पनि घर डुवानमा रहेको बताईन् ।
अत्तरिया बजार नजिकैको विजय नगर टोलमा बस्ती बसेको दसकौ पुगेको छ । उच्चो भागमा रहेको सो टोलमा कहिल्यै पानी जम्ने गरेको थिएन । तर, गत बर्ष गोदावरी नगरपालिकाले सडक कालोपत्रे गरेपछि भने डुबानको समस्या सुरु भएको हो ।
स्थानीय परी नाथले नगरपालिकाले नाला बिनाको सडक निर्माण गर्दा पानीको निकास झनै थुनिएर डुबानको समस्या सुरु भएको बताए । ‘नगरपालिकाले बिना नालाको सडक निर्माण ग-यो । पछि नालाको लागि माग गर्दा अहिले सम्म सुनुवाई भएको छैन’ उनले भने ‘गत बर्ष प्रदेश सरकारलाई गुहार्दा १० लाख बजेट दिएर ८० मिटर नाला निर्माण गरिएपनि त्यो प्रयाप्त भएन ।’
नगरपालिकाले गत आर्थिक बर्षमा सो टोलमा बिना नालाको करिब ४०० मिटर सडक कालोपत्रे गरेको थियो । नगरपालिकाले सडक निर्माण गर्दा सडक चौडा गर्ने नाममा भएको नाला पनि पुरिएको छ । सडकको उचाई बढेर नाला पुरीदा अहिले सो टोलमा होचा घर डुबानमा पर्न थालेका छन ।
यो एक उदाहरण मात्रै हो । नगरपालिकाले विगत ५ बर्षको अवधिका अधिकांस ठाउँमा यसरीनै नाली बिनाका सडक निर्माण गरेका कारण अहिले सो क्षेत्रमा डुवानको समस्या बढ्नुको साथै कालोपत्रे पनि उप्कीन थालेका छन ।