धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बन्ने भएको छ । हाल प्रदेश सभामा ठूलो दल रहेको एकीकृत समाजवादीका दुई प्रदेश सभा सदस्य (तारा लामा तामाङ र कुलवीर चौधरी) एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने छन् । १४ प्रदेश सभा सदस्यसहित ठूलो पार्टी बनेको नेकपा एसका दुई सदस्य निलम्बनमा परेमा अब उसँग १२ प्रदेश सभा सदस्य मात्रै हुने छन् ।
नेकपा एसका प्रदेश सभा सदस्यको संख्या १२ मात्रै रहेपछि १३ प्रदेश सभा सदस्य रहेको माओवादी प्रदेशको ठूलो दल बन्ने भएको छ । २०७४ मा सम्पन्न प्रदेश निर्वाचनमा १४ सांसद जितेको माओवादीबाट एक जना (झपट बोहरा) एमालेमा गएसँगै उसँग १३ जना मात्रै थिए ।
२०७४ को निर्वाचनपछि २४ प्रदेश सभा सदस्यसहित ठूलो दल बनेको एमाले विभाजित भएपछि १४ प्रदेश सभा सदस्यसहित नेकपा एस प्रदेश सभाको ठूलो दल बनेको थियो । तर प्रदेश सभाको कार्यकाल सकिनै लाग्दा नेकपा एसका दुई प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरी एमालैमै फर्केका छन् ।
नेकपा एस दोस्रो ठूलो दल बन्ने छ । ११ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेस तेस्रो र १० प्रदेश सभा सदस्य रहेको एमाले चौथो दल बनेका छन् । एक–एकजना प्रदेश सभा सदस्यको जसपा र लोसपा चौथो दल बन्ने छन् ।
५३ प्रदेश सदस्य रहेको प्रदेश सभामा थप दुई जना निलम्बन हुँदा ४७ सदस्य रहने छन् । ५३ मध्ये एक जना सभामुख र एक जना उपसभामुख छन् ।