खलङ्गा–तिङ्कर सडक निर्माणको काम द्रुत गतिमा हुँदै

दार्चुला – सदरमुकाम खलङ्गा–तिङ्कर सडकको जिम्मा पाएको नेपाली सेनाले निर्माण कार्यमा वार्षिक लक्ष्यभन्दा डेढ किलोमिटर बढी सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा व्यास गाउँपालिका–३ तुषारपानीदेखि वडा नम्बर २ दुम्लिङसम्मको आठ दशमलव चार किलोमिटर सडक निर्माण गरिसकेको छ ।

maya metro hospital

उक्त क्षेत्रमा चार मिटर चौडाइको तीन किलोमिटर सडक र चारदेखि छ मिटर चौडाइको चार किलोमिटर सडक निर्माण गर्ने सेनाको वार्षिक लक्ष्य रहेको आयोजना प्रमुख तथा प्रमुख सेनानी हरिबहादुर बोहराले बताए । उनका अनुसार ट्रयाक खोलिसकेपछि असोजपछि राप्लाको दुम्लिङसम्म गाडी पुग्ने सम्भावना रहेको छ । तीन मिटर चौडाइ रहेको क्षेत्रमा सडकलाई अझ बढी चौडा बनाइने आयोजना प्रमुख बोहराले बताए । गत आवदेखि मात्रै सेनाद्वारा सडक निर्माणको कार्य सुरु गरिएको थियो ।

गतवर्ष सेनाले सात किलोमिटर लामो सडकको ट्रयाक निर्माण गर्ने लक्ष्य राखेको उनले बताए । नेपाल सरकारले २०७७ वैशाख १४ गते तिंकर सडक निर्माणको जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो । उक्त सडक निर्माणका लागि विसं २०७७ असारमा नेपाली सेनाको विकास निर्माण कार्यदल दार्चुला पुगेको थियो । विसं २०७७ मा सेनाले सडक निर्माणको प्राविधिक तयारी, सुन्सेरा र दुम्लिङमा क्याम्प स्थापना तथा सडक निर्माणको व्यवस्थापकीय काम गरेको थियो ।

attariya hospital

विसं २०७९ वैशाखको दोस्रो साता सेनाको हेलिकप्टर मार्फत राप्लाको माल र दुम्लिङमा स्काइभेटर र कम्प्रेसर मेसिन ढुवानी गरिएका छन् । सेनाले जिम्मा लिनुभन्दा पहिला श्रमिकबाट हातेऔजार प्रयोग गरी सडक खनिँदै आएको थियो । तुषारपानीदेखि दुम्लिङ सम्मको साढे आठ किलोमिटर लामो सडक निर्माण कार्यमा दैनिक तीनदेखि साढे चार सय जनासम्म श्रमिक परिचालन गरिएको आयोजनाले जनाएको छ । सडक निर्माणमा प्रयोग गरिएका जनशक्तिमध्ये ७० प्रतिशत दार्चुलाका स्थानीय रहेका आयोजना प्रमुख बोहराले बताए । फतङगाड, कोठधार, माल, सगनाडी, दुम्लिङलगायत स्थानमा श्रमिकको क्याम्प राखेर सडक निर्माण भइरहेको छ ।

उक्त सडक निर्माणका लागि सुन्सेराबाट भरिया र खच्चरमार्फत पेट्रोलियम पदार्थ ढुवानी गरिएको थियो । सडक निर्माण भइरहेका स्थानमा स्काइभेटर र कम्प्रेसर मेसिन चलाउन पेट्रोलियम पदार्थ ढुवानी गरिएको आयोजनाको भनाइ छ । गतवर्ष सरकारले तिङ्कर सडक निर्माणका लागि नेपाली सेनालाई रु १५ करोड ८० लाख बजेट उपलब्ध गराएको थियो । सडक निर्माण आयोजनाले ९१ प्रतिशत बजेट खर्च भएको जनाएको छ ।

गत वर्ष विनियोजित बजेटमध्ये १४ करोड ३८ लाख सडक निर्माणमा खर्च भएको आयोजनाले जानकारी दिएको छ । भौगोलिक विकटता र कडा चट्टान भएका कारणले काम गर्न निक्कै कठिन भएको उनले बताए । कडा चट्टानका बाबजुद पनि निर्माण कार्य लक्ष्यभन्दा बढी नै भएको प्रमुख बोहराको भनाइ छ ।

रासस

 

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.