कञ्चनपुरमा लागुऔषधका मुद्दा तेब्बरले वृद्धि

कञ्चनपुर – कञ्चनपुरका बितेको केही वर्षदेखि लागूऔषध दुर्व्यसन तथा कारोबारका मुद्दा बढ्दै गएको छ । पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागुऔषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसंगै यहाँ दैनिक जसो खैरोहिरोइन, चरेश, नाइट्राभेट लगायतका लागूऔषधसहित युवाहरु पक्राउ पर्ने गरेका छन् ।

maya metro hospital

चालु आर्थिक वर्षको झण्डै डेढ महिनामा तीन भारतीय सहित लागू पदार्थ मुद्दामा ३१ जनालाई पक्राउ गरिसकेको छ । ‘हरेक दिनजसो लागूऔषध कारोबार यससम्बन्धी कसुरमा पक्राऊ नपरेको दिनै छैन् ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले भने, ‘युवा पुस्ता लागूऔषधको दुर्व्यसनमा लिप्त रहेको घटनाक्रमले देखाउँदै गएको छ ।’

joshi vada pasal 2

उनले अभिभावक, समाज र स्थानीयदेखि माथिल्ला सरकारसम्मले लागूऔषध नियन्त्रणमा ध्यान नदिए अवस्था झन् चुनौतीपुर्ण बन्दै जानेप्रति सचेत गराए । चालु आवको साउदेखि आजसम्मको तथ्याङ्क अनुसार १२७.०१ ग्राम लागूऔषध खैरोहिरोइन, २.२४ ग्राम चरेश, नाईट्राभेट २५५ ट्यावलेट लगायतका लागूपदार्थ प्रहरीले बरामद गरेको छ । ‘चालु आवमा लागूऔषध सम्वन्धी ११ मुद्दा दर्ता भएर अनुसन्धान प्रक्रिया अघि बढेको छ ।’ प्रहरी निरीक्षक गिरीले भने, ‘पछिल्लो समय डरलाग्दो रुपमा लागूऔषध दुव्र्यसन बढेको देखिन्छ ।’

जिल्लाभर सादा पोसाकदेखि मातहतका प्रहरी युनिट लागूऔषध नियन्त्रणमा खटिनुका साथै जिल्ला प्रहरी र सामुदायिक प्रहरी र ट्राफिक कार्यालय लागूऔषध सचेतना सम्वन्धी जनचेतानामुलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । आर्थिक बर्ष २०७६÷०७७ मा ५५ लागूऔषध सम्वन्धी मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत आर्थिक वर्ष २०७८/०७९ मा १४३ मुद्दा दर्ता भएर कारबाही अघि बढेको प्रहरीले जनाएको छ ।

भारतसित खुला सीमानाका जोडिएको कञ्चनपुरमा पुर्नबास, बेलौरी, बेल्डाँडी र दोधारा चादँनी नगरपालिका क्षेत्रबाट लागूऔषध सहित ओसारपसारमा संलग्नहरु बढी संख्यामा पक्राउ परेको प्रहरी तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालयले २०७६ सालयता हालसम्म लागूऔषध ओसार पसारमा संलग्न ३३ भारतीयलाई कारबाहीको दायरामा ल्याइसकेको छ । प्रहरीले केही बर्षअघि बेलौरी नगरपालिकाको सीमाक्षेत्रमा लागूऔषध पैठारीमा संलग्नहरुसित दोहोरो झडप हुँदा एक भारतीय तस्कर प्रहरीको गोली लागेर मृत्यु समेत भएको थियो ।

यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा प्रहरीले लागूऔषध सम्वन्धी १४१ मुद्दा चलाएर कारबाही गरेको थियो। सो आर्थिक वर्षमा १० भारतीय सहित दुई सय ३० जना पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै २०७८/०७९ मा १४३ मुद्दामा १३ भारतीय सहित २३९ जनालाई कारबाहीको दायरामा ल्याइएको प्रहरी तथ्याङ्कले देखाएको छ। जसमा आठ जना महिला पनि छन् ।

गत बर्ष प्रहरीले ३३ किलो ९८५ ग्राम चरेश, ५८०.०६० ग्राम खैरोहिरोइन, नाइट्राभेट ट्याबलेट १ हजार ७४८ लगायतका लागूऔषध समेत बरामद गरेको थियो । जिल्लामा रहेको स्थानीय सरकार, स्थानीय प्रशासन, विभिन्न दातृ संघसंस्थाहरु लागूऔषध न्यूनीकरणका लागि सक्रिय रहेपनि खुला सीमानाका कारण चुनौती बनेको छ । लागूऔषध कारोबारीलाई भारतीय पक्षले सीमा क्षेत्रमा कडाई नगर्दा समेत यहाँ लागूऔषधको कारोबार बढेको हो ।

यहाँस्थित धुम्रपान निषेधका अभियन्ता मदन चन्दले आफूहरु विद्यालयहरुमा लागूऔषध न्युनीकरणका लागि सचेतनामुलक कक्षा सञ्चालन गरिरहेको बताए । ‘लागूऔषध रोकथामका लागि बुवा आमादेखि विद्यालयमा शिक्षकहरु सम्मलाई सचेत गराउनपर्ने देखियो’, उनले भने, ‘लागूऔषधको शिकार टिनेजर केटाहरु बढी छन् ।’

लागूऔषध नियन्त्रणका लागि सरकारको कडा निगरानी आवश्यक रहेको जनाउँदै विद्यालय स्तरमा समेत यसको रोकथामका लागि अग्रसर हुनुपर्ने बताए । ‘छोरा छोरीलाई अभिभावक र शिक्षकहरुले निगरानी गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘प्रहरी प्रशासनले मात्रै सचेत र कारबाही गरेर पुग्दैन् ।’ बस्तीमा आमा समूह र क्लब पनि लागूऔषध नियन्त्रणमा लाग्नुपर्नेमा अभियान्ता चन्दको भनाइ छ ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.