सुदूरपश्चिममा अझै पुग्न सकेनन् पाठ्यपुस्तक

अछाम – शैक्षिक सत्र सुरु भएको साढे तीन महिना पुग्न लाग्दा पनि सुदूरपश्चिमका पहाडी जिल्लाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको लामो समय भइसके पनि पुस्तक नपुग्दा पठनपाठन प्रभावित भइरहेको शिक्षक, विद्यार्थीले गुनासो गरेका छन ।

maya metro hospital

‘४० प्रतिशत जति कोर्स पढाएर सकिने बेला भइसक्यो तर अहिलेसम्म नेपाली विषयको पुस्तक पाएका छैनौं । दिदीदाइले अघिल्लो वर्ष पढेका पुस्तककै भर पर्नुपरेको छ । दिदीदाइ हुनेले त पढ्न पाएका छन्, तर मेरो त त्यस्तो छैन,’ अछामको मंगलसेनस्थित शोडषा माविमा कक्षा ६ मा पढ्ने रमिता बोगटीले भनिन्, ‘स्कुलमा सरले पढाएकै आधार मात्रै छ । घरमा पढ्नलाई पुस्तक नै छैन ।’

joshi vada pasal 2

एसईईको तयारी गरिरहेका विद्यार्थीले समेत समयमै पाठ्यपुस्तक नपाउँदा पुराना पुस्तककै भरमा आलोपालो गर्दै पढिरहनुपरेको गुनासो गरे । ‘पढाइ सुरु भएको यत्रो समय भइसक्यो । हामीले ऐच्छिक विषयका पुस्तक नै पाएका छैनौं,’ शोडषा माविमा कक्षा १० मा अध्ययनरत विष्णु ढुंगानाले भने, ‘हेडसरलाई पुस्तक कहिले आउँछ भनेर सोधेको सोध्यै छौं । आउँछ आउँछ मात्र भन्नुहुन्छ तर कहिले आउँछ थाहै छैन ।’

जेठमै शैक्षिक सत्र सुरु भए पनि अझै केही कक्षाका पाठ्यपुस्तक आउन बाँकी रहेको शोडषा माविका प्रधानाध्यापक मदन कुँवरले बताए । जनक शिक्षाले जिल्लाका व्ययसायीलाई पुस्तक पठाउने र त्यहाँबाट विद्यालयले खरिद गर्ने प्रक्रिया छ । तर, अहिलेसम्म पुस्तक नआएपछि पढाउनै समस्या भइरहेको रहफस्थित नेरा आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशबहादुर रावलले बताए । विद्यार्थीले पुस्तक नपाएपछि च्यातिएका पुराना पुस्तक सँगालेर अध्ययन गराइरहेको उनको भनाइ छ ।

बैतडीमा पनि विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन । आफ्नो विद्यालयमा कक्षा ६ का विद्यार्थीले किताब पाउन नसकेको ज्ञानेश्वर माविका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए । ‘सबै विद्यार्थीको हातमा पुस्तक नभई पढाउँदा विद्यार्थी र शिक्षक दुवैलाई समस्या हुने गर्छ,’ उनले भने, ‘यसले नतिजासम्मै प्रभाव पार्छ ।’ हाललाई विद्यालयले नै पुस्तक व्यवस्थापन गरेर आलोपालो विद्यार्थीलाई वितरण गरिरहेको उनले बताए ।

पाटनको ज्ञानेश्वर माविमा पहिलो त्रैमासिक परीक्षा सकिएपछि केही दिनअघि मात्रै केही पुस्तक पुगेका छन । सहायक प्रधानाध्यापक गणेश अवस्थीले भने, ‘६ र ८ कक्षाका केही पुस्तक अझै आउन बाँकी छ ।’ आफ्नो विद्यालयमा पनि सबै कक्षाका सबै पुस्तकहरू पूरा नपुगेका सिगास गाउँपालिकाको ढुंगाडस्थित शारदा माविका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए ।

यता, शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्करराज शर्माले बैतडीमा ४, ७ र ९ कक्षाका पाठ्यपुस्तकको अभाव भएको बताए । धेरै पुस्तक पुगे पनि केही बाँकी रहेको उनले दाबी गरे । बाँकी पुस्तक केही समयभित्रै आइपुग्ने जानकारी केन्द्रबाट आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.