सुदूरपश्चिममा १४.५ प्रतिशतले कृषि उत्पादन घट्यो

धनगढी – सुदूरपश्चिम प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन साढे १४ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंक धनगढीको गत आर्थिक वर्ष ०७८/७९ को अर्धवार्षिक अध्ययन प्रतिवेदनअनुसार प्रदेशभर खाद्यान्न उत्पादनमा ह्रास आएको हो । यस्तो उत्पादन अन्नको भण्डार मानिने कैलालीमै २९.०३ प्रतिशतले घटेको छ । धानको उत्पादनमा अत्यधिक ह्रास आएको प्रतिवेदनमा उल्लेख छ । जसअनुसार धान उत्पादनमा ३१.४९ प्रतिशतले कमी आएको छ ।

maya metro hospital

जिल्लागत आधारमा बैतडी र बाजुरामा खाद्य तथा अन्न बालीको उत्पादनमा वृद्धि भएको छ भने अन्य जिल्लाहरूमा घटेको छ । सबैभन्दा बढी बैतडीमा ७.४ प्रतिशतले वृद्धि भएको हो । सबै बालीमध्ये सबैभन्दा बढी कोदोको उत्पादन २२.४७ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

joshi vada pasal 2

प्रदेशमा तरकारी उत्पादनमा पनि ०.७ प्रतिशतले कमी आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तरकारी उत्पादन २.९६ प्रतिशतले वृद्धि भएको थियो । जिल्लागत आधारमा तरकारीको समग्र उत्पादन सबैभन्दा बढी बझाङमा ४९.८२ प्रतिशतले वृद्धि हुँदा अछाममा भने ३४.२० प्रतिशतले गिरावट आएको छ ।

फलफूल तथा मसलाबाली समूहअन्तर्गत आँपको उत्पादनमा ४७.६९ प्रतिशत, स्याउमा २.९९ प्रतिशत र सुन्तला उत्पादनमा १.३२ प्रतिशतले कमी आएको छ । केरातर्फ भने ३०.३७ प्रतिशत, अन्य फलफूलतर्फ २६.६७ प्रतिशत र मसला उत्पादनतर्फ ७.७७ प्रतिशतले उत्पादन बढेको छ ।

समीक्षा अवधिमा जिल्लागत आधारमा सबैभन्दा बढी कञ्चनपुरमा फलफूल तथा मसला बालीको समग्र उत्पादन ४३.२४ प्रतिशतले बढेको छ भने डडेलधुरामा ४१.४४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार दूध उत्पादन भने १.५९ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवको सोही अवधिमा पनि दूध उत्पादनमा १.१६ प्रतिशतले बढोत्तरी भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवको पहिलो ६ महिनामा मासुजन्य उत्पादन पनि १.५५ प्रतिशतले वृद्धि भएको छ ।

कोदो, फापर, आलु, भटमास र दलहनको क्षेत्रफलमा वृद्धि भएको छ । तरकारी खेतीको क्षेत्रफल भने ९.९ प्रतिशतले घटेको छ । तरकारी तथा बागवानी खेतीको क्षेत्रफलमा कैलालीको हिस्सा सबैभन्दा बढी र बाजुराको सबैभन्दा कम छ । खाद्य तथा अन्य बालीको उत्पादनमा कञ्चनपुरको हिस्सा सबैभन्दा बढी ४२.५९ प्रतिशत र बाजुराको सबैभन्दा कम २.२८ प्रतिशत मात्रै छ ।

तरकारी तथा बागवानी उत्पादनमा कैलालीको हिस्सा सबैभन्दा बढी ३२.२६ प्रतिशत र बाजुराको सबैभन्दा कम १.८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, फलफूल तथा मसलाजन्य बालीको उत्पादनमा कैलालीको हिस्सा सबैभन्दा बढी ४२.३४ प्रतिशत र अछामको हिस्सा सबैभन्दा कम १.८५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार ०७८/७९ पहिलो ६ महिनामा प्रदेशमा धानबालीले ढाकेको क्षेत्रफल १.३९ प्रतिशतले घटेको छ । प्रमुख खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसलाले ढाकेको भू–क्षेत्र ०.५८ प्रतिशतले घटेको छ । आघिल्लो आवको यसै अवधिमा पनि यस्तो क्षेत्रफल ०.७० प्रतिशतले घटेको थियो । मकै, उखु र तेलहनको क्षेत्रफल पनि घटेको प्रतिवेदनमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.