धनगढी – कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनपछि साढे ११ हजार मतदाता थपिएका छन् । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा मतदाताको संख्या ५ लाख २५ हजार एक सय २५ थियो ।

त्यसपछि वैशाख ३० गतेयता ११ हजार चार सय ३० नयाँ मतदाता थपिएर हाल कैलालीको मतदाता संख्या ५ लाख ३६ हजार ५ सय ५५ पुगेको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीमा एक मतदान स्थल पनि थप गरिएको छ भने तीन मतदान स्थल सारिएका छन् । एक मतदान स्थल थपिएपछि कैलालीमा २ सय ३७ मतदान स्थल रहनेछन् ।

प्रदेश निर्वाचन आयोगका निमित्त प्रमुख प्रेम भट्टले कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेका र पाँच प्रतिनिधि सभा सदस्य र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन हुने बताए । साउन १९ गतेबाट मतदाता नामावलीमा नाम दर्ता, विवाह दर्ता र बसाइसराइको काम बन्द गरिएको छ । अब निर्वाचन केन्द्रित दल दर्ताका लागि आयोगले आइतबारबाट आह्वान गरेको भट्टले बताए ।
निर्वाचन कार्यालयले आवश्यक सामग्रीको आंकलन, व्यवस्थापन तथा पुराना सामग्रीको तथ्यांक अध्यावधिकको काम गर्न थालेको छ । जिल्लामा ३० राजनीतिक दल दर्ता रहेकाले उनीहरूका उम्मेदवारहरू हुनेछन् ।