महेन्द्रनगर –कञ्चपुर स्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम ९९ प्रतिशत सकिएको छ । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा निर्माण भइरहेको चार लेनको पक्की पुल निर्माणको काम ९९ प्रशिसत सम्पन्न भएको हो ।

३४ वटा पिल्लर र ३२ वटा सल्याप बनाएर निर्माण भएको पुलको ९९ प्रतिशत काम सकिएको छ । पुलमा पिच समेत भइसकेको निर्माण कम्पनी कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले बताए । चार वर्षअघि निर्माण सुरु भएको ४ लेनको पुलको काम वर्षा रोकिने बित्तिकै बाँकी रहेको पिच गरेर सम्पन्न गरिने पाण्डेयले बताए ।

उनका अनुसार पुलको दुवैतर्फ निर्माण हुने पहुँच मार्गको काम पनि ९५ प्रतिशत सकिएको छ । बाटोमा पर्ने ३ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । निर्माण हुने ७.८ किलोमिटर सडक भरानको काम पनि सकिएको छ । पुलको पारी ६ सय मिटर र वारि १८ सय मिटर बाहेक ५४ सय मिटरमा पिच भइसकेको छ ।
सडक किनारमा निर्माण गर्नुपर्ने १२ किलोमिटर नाली निर्माणको काम सम्पन्न भइसकेको ईन्जिनियर पाण्डेयले बताए । महाकाली पुल योजनाको समग्र कार्यमा भने ८१ प्रतिशत प्रगति भएको महाकाली पुल योजनाका साईड हेर्ने ईन्जिनियर दुर्गादत्त अवस्थीले बताएका छन । पुलको समग्र काम भने २०८० को असार मसान्त भित्र सकिने जनाइएको छ ।
८ सय मिटर लम्बाइ र २४ मिटर चौडाइको पुलको काम तीन वर्षभित्र सक्नेगरि कुमार सिएफइसी जेभीसँग ३ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । पुलको दुवैतर्फ बाँध बाँधेर आँखा आकारको पोखरी निर्माण गरी पर्यटकीय स्थलका रुपमा समेत विकसित गरिने गरी पुलको डिजाइन गरिएको छ ।