सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमणदर

धनगढी – भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या १०० नाघेको छ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको सङ्ख्या १०० नाघेको हो। हाल यो प्रदेशमा कोरोना भाइरसका ११६ जना सक्रिय संक्रमित रहेका छन्। जसमा सबैभन्दा बढी कैलालीमा ७५ र कञ्चनपुरमा ३५ छन् । यस्तै, बैतडीमा ६ जना सक्रिय संक्रमित रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Karma Consultancy

कुनै बेला शुन्यमा झरेको कोरोना संक्रमणदर हाल बढ्दै गएसँगै जोखिम बढेको हो। सीमा जोडिएको प्रदेश भएकाले भारतमा संक्रमणदर बढ्दै गएकाले त्यसको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
गत असार ३२ गते शुन्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको छ, जोशी भन्छन्, भारतमा कोरोना संक्रमण बढ्दै गएकाले सीमा जोडिएको प्रदेश सुदूरपश्चिममा पनि देखिन थालेको छ । जोखिम बढ्दै गएकाले सतर्कता अपनाउन थालिएको छ ।

citizen security services

पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको जोशीले जानकारी दिए । उनका अनुसार अहिले सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररुपमा भइरहेको छ। जोशी भन्छन्, जोखिम बढेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । कैलाली र कञ्चनपुरमा एक एक हजार शय्याका होल्डिङ सेन्टर निर्माण सम्पन्न हुँदैछन् ।

attariya hospital

यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररुपमा सञ्चालनमा रहेको जोशीको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ लाख ५८ हजार २१२ को कोरोना परीक्षण गरिएकोमा ५९ हजार ८६७ मा संक्रमण पुष्टि भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा ६३३ को ज्यान गइसकेको छ ।

कोरोना संक्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयको आग्रह छ । भीडभाडमा नजान, घर बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.