संविधान कार्यान्वयनमा ल्याउन तीनै तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट
धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानमा भएको अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि तीनै तहबीच सहकार्य आवश्यक भएको बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले मंगलबार धनगढीमा आयोजना गरेको संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तर सम्बन्धका लागि व्यवस्था गरिएका संस्थागत संयन्त्रको क्रियाशीलताको अवस्था सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
संविधानमा भएको अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि स्थानीय, प्रदेश र सङ्घले सहकार्य गरी अगाडि बढ्न सके मात्र संविधानलाई सफल पार्न सकिने मुख्यमन्त्री भट्टको भनाइ छ ।
उनले स्थानीय, प्रदेश र संघले विकास निर्माणसम्बन्धी कुनले के र कस्तो काम गर्ने भन्ने विषयसम्बन्धी मापदण्ड वा कार्ययोजना साझा रूपमा तयार गर्नु जरुरी रहेको धारणा व्यक्त गरे ।
मुख्यमन्त्री भट्टले भने, ‘त्यो भयो भने त्यसमा टेकेर हामी सबैलाई काम गर्न सहज हुने थियो । जनताका अपेक्षा, हाम्रो काम गर्ने तौरतरिका र विधि प्रक्रियाहरू बीचको तालमेल नमिलेको कारणले संघीयताका बारेमा बेलाबेलामा टीकाटिप्पणी उठिराखेको हुन्छ र यसबाट हामी सबैले एकरूपताका साथ अगाडि बढ्नुपर्ने जरुरी छ ।’