सुदूरपश्चिममा ऐन संशोधन गरेर सुविधा थप्ने तयारी
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ऐन संशोधन गरेर सुविधा थप्ने तयारी गरेको छ । सरकारले प्रदेशसभाको बैठकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न विद्येयक पेश गरेको हो ।
आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभाको बैठकमा टेवल गरेको संशोधन विद्येयकमा सत्ता पक्ष र विपक्षी दलको नेता तथा प्रमुख सचेतकलाई सवारी साधनको सुविधा दिने उल्लेख छ । सभामा छलफल भएपछि पारित भएमा संशोधन विद्येयक कार्यान्वयनमा आउनेछ ।
यसअघि सभामुख, उपसभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक र विषयगत समितिका सभापतिले मात्र गाडी सुविधा पाउदै आएकोमा अब सरकारले ल्याएको संशोधन विद्येयक पारित भए सत्ता पक्षमा रहेका सबै संसदीय दल र विपक्षी दलको प्रमुख सचेतकले पनि उक्त सुविधा प्राप्त गर्नेछन् ।
जसअनुसार अब सरकारमा प्रतिनिधित्व गर्ने तीन दल नेकपा (एकीकृत समाजवादी) पार्टी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा प्रमुख विपक्षी नेकपा एमालेका प्रमुख सचेतकले चालक सहित गाडी र इन्धनको सुविधा पाउनेछन् ।