दार्चुलामा ग्रामीण सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या
दार्चुला – वर्षात् सुरु भएसँगै जिल्लाका ग्रामीण सडकहरू अवरुद्ध भएका छन । वर्षाका कारण ग्रामीण सडकमा पहिरो खसेर, भासिएर तथा भत्किएर अवरुद्ध भएका हुन ।
खाल्डाखुल्डी र हिलाम्मे हुँदा सवारी यातायात अवरुद्ध भएको छ । चले पनि गन्तव्यसम्म नपुग्ने अवस्था भएको सवारी चालक सन्तोष ठगुन्नाले बताए । गाउँ जाने सडक बन्द भएपछि अहिले गाडी घरमा थन्काइएको छ । ‘करिब एक हप्ता बढी भयो, चलाएको छैन,’ उनले भने, ‘पक्की सडकमा बुकिङका यात्रु पाइए चलाउँछु ।’ उनी खलंगा–दल्लेख, होपरी ग्रामीण सडक खण्डमा सवारी चलाउने गर्थे । अहिले उक्त सडक बन्द भएको तीन साता भएको छ । पछिल्ला दिनहरूमा गाउँसम्म यातायात नपुग्दा खाद्यान्न बोक्नुपर्ने र यात्रुलाई पनि समस्या भएको दुहु गाउँपालिका–१ पिपलचौरीका तोयराज जोशीले बताए ।
साविकको दुहु क्षेत्रको टिंकर सडकमा खलंगादेखि श्रीबगडसम्म एउटा गाडी र तिमुरपाटाबाट अर्को गाडीमा चढ्नुपर्ने अवस्था छ । खलंगा–दल्लेक–होपरी–धुलिगडा–गोकुलेश्वर पनि ठाउँ–ठाउँमा अवरुद्ध हुँदा नौगाड गाउँपालिकाको मुख्य सडक, अपिहिमाल जोड्ने मकरीगाड, मार्मा गाउँपालिका जाने बिटुले–पारिबगड सडकको रिलपहिरो क्षेत्रमा प्रायः बर्खाको समयमा अवरुद्ध हुने गर्छन् । यी सडक अवरुद्ध हुँदा लेकम, मार्मा, अपिहिमाल, नौगाड, ब्यास र दुहु गाउँपालिकाका स्थानीयले सास्ती खेप्नुपरेको छ ।
जिल्लाका सबैजसो ग्रामीण सडक कच्ची छन । कच्ची सडकहरू हिलाम्य भएर सवारीसाधन सञ्चालनमा समस्या भएको चालक महादेव भट्टले बताए । कच्ची सडकमा गाडी चलाउन समस्या भएर यात्रुलाई समेत बीच सडकमै ओराल्नुपर्ने बाध्यता भएको उनले बताए ।
गाडी गुडाउन सकिने अवस्था नभएपछि बिरामीलाई अस्पताल पु¥याउनै मुस्किल हुने गरेको छ । एक महिनादेखि गाडी चल्न समेत बन्द भएको र ट्र्याक्टरको प्रयोगले सडक पुरै हिलाम्य र ठूलठूला खाल्डाहरूकै कारण अवरुद्ध भएका छन ।