सुदूरपश्चिम – धनगढीमा आयोजित धामीझाँक्री सम्मेलनमा सहभागी डोटीको तेडी कुल देवताका धामी डबल बोगटी आफूहरुको गतिविधिले समाजमा कुनै महिलारपुरुषप्रति विभेद नभएको स्पष्टीकरण दिँदै गरेको भेटिए ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका धामीझाँक्रीहरुको धनगढीमा आज सुरु भएको सम्मेलनका क्रममा उनले धामीझाँक्रीप्रति समाजमा बेलाबखत लगाउने गरिएको गलत आरोपको खण्डन पनि गरे ।

आफूहरु जबरजस्ती देवताका धामी नभएको जिकिर गर्दै उनले भने, `हामीलाई धामी भनिने गरिए पनि हामी देवताले रोजेका देवदूत हौँ, धामी होइनौँ, आ–आफ्नो संस्कार, धर्म, परम्पराभित्र रहेर सबै मानवले स्वस्थ र सम्मानका साथ बाँच्न पाउनुपर्छ भन्नेमा आफूहरु प्रतिबद्ध छौँ ।`

‘मर्यादित महिनावारीका लागि धामीझाँक्री सम्मेलन’ नामको उक्त सम्मेलनमा अछामलगायतका जिल्लामा महिनावारी भएका महिलाका लागि बस्न बनाइएको छाउगोठ विगतमा भत्काइएको घटना राम्रो नभएको बुझाइ धामीहरुको छ । उनीहरुले भने, मनदेखि छाउगोठ भत्काएको भए देवीदेवताले पनि मान्थे होला, जबरजस्ती छाउगोठ भत्काइँदा गोठ भत्काउन सहभागी कतिपय व्यक्तिलाई देवीदेवता लागेको र सुख नभएको भन्ने सुनिएको छ ।` महिला र पुरुषमा चेतनाको अभाव हुँदा समाज पिछडिनुपरेको उनीहरुको धारणा छ ।
मुगु जिल्लाको सोरु गाउँपालिका–२ को दुर्गा भवानीदेवीका धामी जगतबहादुर मल्लले कुनै पनि व्यक्ति स्व–इच्छाले देवताको धामी हुन नसक्ने र देवी प्रकट हुनसक्ने व्यक्ति मात्र धामी हुने भन्दै समाजलाई सही मार्गमा डोर्याउन आफूहरुको भूमिका रहेको बताए ।
`देवीदेवता लागेर बिरामी भएको व्यक्तिलाई डाक्टरले उपचार गर्न सक्दैनन्, डाक्टरले औषधि गर्नुपर्ने बिरामीलाई धामीझाँक्रीले उपचार गर्न सक्दैनन्`, उनले भने, ‘एक वर्षअघि भारत र नेपालका अस्पतालमा उपचारका लागि लाखौँ रकम खर्च गरेर पनि निको नभएका दाङका एक पुरुषलाई आफूमा प्रकट भएको देवीले निको पारेको घटना ताजै छ ।` उनले अहिलेको परिवर्तनशील युगमा देवीदेवताको कानून र देशको संविधान दुवैलाई मानेर धामीझाँक्रीले आफ्ना गतिविधि गर्न जरुरी भइसकेको बताए ।
परम्परागत स्वास्थ्य सेवा प्रदायकका रूपमा धामीझाँक्रीहरुले समाजमा भूमिका निर्वाह गर्दै आएको परिप्रेक्ष्यमा उनीहरुको सहभागितामा धनगढीमा सम्मेलन गरिएको हो । सम्मेलनमा मर्यादित महिनावारीको विषयमा छलफल हुन लागेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका आउजीले सम्मेलनमा मर्यादित महिनावारीका साथै जनस्वास्थ्यका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, `महिनावारी भएको महिलाले पाँच दिनसम्म शुद्ध, स्वस्थ र सुरक्षित रहेर बस्नुपर्छ भन्ने हो, आफू गलत काम र व्यवहार गर्ने मान्छेले दोष देवीदेवतालाई लगाउनु राम्रो होइन ।`
महिनावारीका बेला अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशका महिला तथा किशोरीहरु बढी जोखिमा रहने गरेको बताइन्छ । सूचना र प्रविधिको विकाससँगै रीतिरिवाज, परम्परा, संस्कारभित्रका अशोभनीय गतिविधि एवं व्यवहारमा सकारात्मक परिवर्तन भइरहेको देखिए पनि कतिपय समाजमा अन्धविश्वास र कुसंस्कार पूर्णरूपमा हट्न सकेको छैन ।
धामी झाँक्रीहरुले स्वास्थ्य उपचारका क्षेत्रमा नमुनाका रूपमा आफ्नो भूमिका निर्वाह गर्न गराउन टेवा पुर्याउन सकुन् भन्ने उद्देश्य सम्मेलनको आयोजना गरिएको भनाइ आयोजक संस्थाको छ ।
निश्चित समय पुगेपछि महिला तथा किशोरीहरु महिनावारी हुने प्रक्रियालाई प्राकृतिक मानिन्छ । महिनावारी भएको बेला महिला तथा किशोरीलाई घरपरिवारले शौचालय प्रयोग गर्न नदिने, दूध तथा अन्य पोषिलो खाने कुरा खान नदिने, परिवारभित्र सुत्न नदिई सुत्नका लागि छुट्टै व्यवस्था गर्ने, विद्यालयमा व्यवस्थित शौचालयल र पानीको व्यवस्था नहुने, महिनावारी हुने किशोरी विद्यालय जान नहुने जस्ता व्यवहार एवं चुनौती विद्यमान छन् ।
जसका कारण महिनावारी भएका किशोरी तथा महिलाहरुले आफ्नो स्वास्थ्यमा हानी पुग्ने विभिन्न किसिमका अप्ठ्यारा एवं चुनौतीहरु सामना गर्नुपरेको बताइन्छ । महिनावारी भएको बेला कतिपय ठाउँमा खानपान, बस्ने ठाउँ, सरसफाइ स्वच्छतालगायतमा नचाहिँदो बन्देज लगाइने गरिएको पाइन्छ ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) र गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा आयोजित तीन दिने उक्त सम्मेलनमा महिला पुरुष धामीझाँक्री, किशोरी, महिला, विभिन्न पालिकाका उपप्रमुख/उपाध्यक्ष, संघसंस्था र कार्यालयका प्रतिनिधि सहभागी रहेका छन् ।
संस्थाले दुई दशकदेखि विपन्न वर्ग खास गरी बालबालिकाको जीवनस्तर सुधार गर्न बाल संरक्षण, शिक्षा, आयआर्जन, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र पैरवी जस्ता क्षेत्रमा काम गर्दै आएको छ ।
रासस