बैतडीमा हावाहुरीले बर्षेनी बिद्यालयका छाना उडाउदाँ पठन पाठनमा समस्या
बैतडी – बैतडीमा हावाहुरीले बर्षेनी बिद्यालयका छाना उडाउने गर्दा पठन पाठनमा समस्या हुने गरेको छ । लाखौं रकम खर्चेर निर्माण गरिएका विद्यालयका भवनका छाना बर्षेनी हावाहुरीले उडाउन गरेको छ । जिल्लामा बर्सेनि १५–२० भन्दा बढी विद्यालयको छाना हुरीले उडाएको फाइल आउने गरेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।
‘स्थानीय स्तरमै पाइने स्लेटको छाना छोडेर कम्पनीका जस्तापाता भित्रिँदा विद्यालयमा छानो उडाउने समस्या बढेको छ । विद्यालयका भवन निर्माण गर्दा भू–वनोटको ख्याल गरेको पाइएन’ एकाइ प्रमुख अवस्थीले भन्नुभयो,उनल भने ‘बैतडी जिल्ला बढी हावाहुरी चल्ने जिल्ला हो तर दाताले दिएको डिजाइन अनुसार टिनका छाना राखेर बनाएका भवनमा क्षति हुने गरेको छ ।’ बैतडीको भू–वनोटले टिनको छाना दीर्घकालीन हुँदैन भनेर मन्त्रालयको छलफलमै कुरा राखे पनि दाताले बनाइदिने भवनमा जस्तापाताको डिजाइन परिवर्तन नभएको एकाइ प्रमुख अवस्थीले बताए ।
स्लेटको छाना राखेर बनाएका विद्यालयका भवनमा हावाहुरीले प्रभाव पार्न सकेको छैन । ५० वर्षअघि निर्माण भएको बैतडी सदरमुकामस्थित वीरेन्द्र माविको स्लेटको छाना अहिलेसम्म सुरक्षित रहेको छ तर जस्तापाताले बनाएका विद्यालयका भवन निर्माण भएकै वर्ष हुरीले उडाउँदा लाखौँ रुपियाँको नोक्सान हुने गरेको छ ।
बैतडी जिल्लाको भू–वनोट नै बढी हावा चल्ने भएका कारण भवन निर्माणको डिजाइन स्टिमेटमै जस्तापाताको प्रयोग बन्द गरिनुपर्ने सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशी बताए । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेर शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको सामाजिक विकास कार्यालयबाट निर्माण भइरहेका नयाँ विद्यालयका सबै भवन ढलान गरेर निर्माण भइरहेको उनले बताए ।