खाेज्नुहाेस

आज साउने संक्रान्ति मनाइँदै

Image

काठमाडौँ – सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज (आइतबार) देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरूपमा मनाइन्छ।

attariya hospital
navjiwan hospital

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठिक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन्। परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।

लुतो फाल्दा आ-आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महिनालाई विशेषरूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ। महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताए।