डडेल्धुरा – आर्थिक अभावका कारण डडेल्धुराका जीवन बिष्टको उपचारमा समस्या भएको छ । आर्थिक अभावले आलिताल गाउँपालिका–७ की चन्द्रिका पार्की विष्ट (पुष्पा) का छोरा जीवनको उपचारमा समस्या भएको हो । एक्यूट ल्यूकेमियाबाट पीडित १५ वर्षीय जीवन हाल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत छन् ।
जिल्ला सदरमुकामको ज्ञानोदय विद्यानिकेतनमा कक्षा १० मा अध्ययनरत जीवनको स्वास्थ्यमा एकाएक समस्या आएपछि नजिकैको डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो । आमा पुष्पाका अनुसार यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढीस्थित विभिन्न अस्पतालहरूमा चेकजाँच गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि संघीय राजधानी काठमाडौं लगिएको थियो । काठमाडौंस्थित सिभिल अस्पतालमा धेरै दिन कुर्दा पनि बेडसमेत नपाएपछि छोरोको ज्यान बचाउनको लागि दिल्ली ल्याएको पुष्पाले बताइन् ।
कम्तीमा ६ महिना छोरालाई दिल्लीको अस्पतालमा राख्नुपर्ने र आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको पुष्पाको भनाइ छ । उनले आफ्नो छोराको ज्यान बचाइदिन सबैलाई आग्रह गरेकी छन् । आफूसँग र आफन्तले गरेको सहयोगबाट जुटाएको खर्च डडेल्धुरा, धनगढी र काठमाडौंमा छोराको चेकजाँचमै सकिएको उनले सुनाइन् ।
अस्पतालले जीवनको उपचारमा ६ महिनाको दौरानमा कम्तीमा १० देखि १५ लाखसम्म लाग्ने बताएको पुष्पाले जानकारी दिइन् । ‘आफूसँग भएको सबै पैसा डडेल्धुरा, धनगढी र काठमाडौंमा छोरा चेकजाँचमै सकियो । अहिले यता डाक्टर पैसा धेरै लाग्छ भन्नु भएको छ,’ पुष्पाले भनिन्, ‘आफूसँग भएको पैसा सकियो । एक मात्रै छोरा ज्यान जोगाइदिन सबैलाई आग्रह गर्छु ।’