डोटी – सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा डोटीमा २५ किलोवाट विद्युत उत्पादन गरिएको छ । प्रदेश सरकारको १ करोड ५० लाख रुपैयाँको लगानी र फुड्सिल गाउँपालिका संगको सहकार्यमा सोलार विद्युत उत्पादन गरिएको हो । उक्त उत्पादिन विद्युत फुड्सिल गाउँपालिका – २ को केदारअखडा र गराजु गाउँमा विस्तार गरिएको छ ।
गाउँमा विद्युत् वितरण गरिएपछि वर्षौँदेखि अन्धकारमा बस्दै आएका केदारअखडा तथा गराजु गाउँका १ सय घरधुरीका नागरिकहरुलाई सहज भएको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । उनले भने, ‘गाउँमा विद्युत् नहुँदा नागरिकलाई समस्या थियो, अहिले हाम्रो पहल तथा प्रदेश सरकारको आर्थिक सहयोगमा सोलार विद्युत् वितरण गरिएपछि सहज भएको छ ।’
गाउँमा विद्युत् विस्तार भएपछि अहिले त्यहाँका नागरिकले राति उज्यालोका लागि सल्लाको दियालो बाल्नु पर्ने समस्याबाट मुक्ति पाएका छन् ।
सोलार प्रणालीबाट गाउँमा वर्षौँपछि विद्युत् पुगेपछि अहिले यहाँका नागरिकलाई मोबाइल फोन चार्ज, टेलिभिजन हेर्न सहज भएको अर्का स्थानीय हेम बमले बताए ।