अत्तरिया – कैलालीको अत्तरिया बजार क्षेत्र भित्र निर्माण गरिएका ३ वटा कल्भर्ट चौडा गर्ने थालिएको छ । बजार क्षेत्रमा सडक चौडा पारिएको भएपनि कल्भर्ट भने साघुरा रहेका थिए । जसले गर्दा सो क्षेत्रमा दुर्घटनाको जोखिम बढ्न थालेपछि सडक डिभिजन कार्यालय महेन्द्रनगर मार्फत अत्तरियाको पुर्व रोड, पहाड रोड र महेन्द्रनगर रोडमा रहेका कल्भर्ट चौडा पार्न लागिएको हो । जसका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरले चन्द ग्रुप सप्लायर्स संग डेढ करोडमा ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार काम सक्नु पर्ने म्याद माघ मसान्त सम्म राखिएको छ ।
ठेकेदार कम्पनीका प्रतिनिधि यज्ञ भट्टले हाल पुर्व रोड र महेन्द्र नगर रोडमा रहेका कल्भर्ट निर्माणको काम भइरहेको बताए । उनले पहाड रोडको कल्भर्टमा निर्माणका लागि पानी निकासको व्यवस्थापन हुन नसक्दा काम रोकिएको बताए । उनले हालको कल्भर्टलाई कायमै राखी दुबै तफ ४/४ मिटर थप गरिन लागेको बताए । त्यसपछि करिब ४ लेन सडकलाई पुग्ने कल्भर्ट बिस्तार हुनेछ ।
अत्तरिया बजार क्षेत्रमा पुर्व पश्चिम राजमार्ग र अत्तरिया देखि गोदावरी सम्मको सडक खण्डमा सवारी साधनको चाप बढी हुने गरेको छ । तर, बजार क्षेत्रमा केही टुक्रे योजना बनाएर बर्षेनी सडक किनारामा कालोपत्रे थप्ने काम गरिएपनि सो सडकमा पर्ने कल्भर्ट भने साधुरा हुँदा यातायात संचालनमा समस्या हुने गरेको छ ।
अत्तरिया देखि गोदावरी र चिसापानी देखि गड्डाचौकी सडक खण्डलाई नै ४ लेनमा बिस्तार गर्ने योजना अगाडी सारीएको भएपनि हाल सम्म पनि यस सडक खण्डमा टुक्रे योजनाका नाममा करोडौं रकम खर्च हुँदै आएको छ । बर्षेनी यस्ता योजना ल्याउने गरीएका भएपनि ति प्रयाप्त नहुँदा राजमार्गमा अझै पनि सवारी साधन संचालनमा हुने समस्या निराकरण हुन सकेको छैन ।
यसै बर्ष मात्रै सडक डिभिजन कार्यालय महेन्द्रनगरले महेन्द्रनगर रोडमा गोदावरी पुल भन्दा उत्तर पट्टिको भागलाई चौडा गर्न ३ करोड ७२ लाख खर्च गरेर ३२० मिटर पर्खाल निर्माण र माटो भरान गरेको छ । चालु आर्थीक बर्षमा गड्डाचौकी–अत्तरिया–चिसापानी सडक मर्मतको काम पनि जारी रहेको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार उक्त योजना अन्तरगत खाल्डाखुल्डी पुर्ने र उप्केको कालोपत्रे मर्मत गर्ने काम जारी रहेको छ । सडक स्तरोन्नति तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत यस वर्ष १० करोड बजेट विनियोजन गरिएको थियो । गतवर्ष पनि महेन्द्रनगर–गड्डाचौकी खण्डमा माटो भरानसँगै कल्भर्टहरू चौडा पारिएको थियो ।
यद्दपी डिभिजन कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्ग चौडा पार्ने लक्ष्यअनुसार नै गड्डाचौकीदेखि दैजीसम्म माटो भरानको काम गरिरहेको जनाएको छ । उक्त काम भने निकै सुस्त गतिमा अगाडी बढेको छ । पूर्वपश्चिम राजमार्ग चार लेनको बनाउन एक किलोमिटरमै ८/९ करोड बजेट आवश्यक पर्ने सरोकारबालाहरुको भनाई छ ।