सर्भर डाउन हुँदा ८० करोड भुक्तानी रोकियो
धनगढी – चालु आर्थिक वर्षको बजेट अन्तर्गत कार्य सम्पन्न भएका योजनाको पनि भुक्तानी रोकिएपछि सुदूरपश्चिममा झमेला पैदा भएको छ । प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालयहरुको ८० करोड बढी भुक्तानी ’होल्ड’ भएको छ ।
चालु आर्थिक वर्षको भुक्तानी गर्ने अन्तिम समय असार २५ सम्म तोकिएको हो । तर २४ र २५ गते कोलेनिकाको सर्भर डाउन भएपछि कार्य सम्पन्न गरी आवश्यक कागजपत्र तयार गरेका योजनाहरुको पनि भुक्तानी रोकिएको विभिन्न कार्यालयका प्रमुखहरुले बताएका छन् । प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीका अनुसार करिब ८० करोड भुक्तानी रोकिएको अवस्था छ ।
‘असार २५ गते रातिदेखि त सर्भर सिस्टम लक हुने र भुक्तानी बन्द हुने त नियमै हो । तर २४ र २५ गते दिनभर पनि सर्भर नचलेपछि भुक्तानी हुन पाएन,’ भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीराम भट्टराइले भने, ‘हाम्रै मन्त्रालय मातहतका कार्यालयहरुको करिब ५० करोड बढी भुक्तानी गर्नुपर्ने रकम होल्ड भएको छ ।’
पशु सेवा विज्ञ केन्द्र कैलालीले करिब ७ करोड भुक्तानी रोकिएको बताएको छ । शिक्षा, खानेपानी, सिँचाई, सडक, कृषि तथा पशु सेवा क्षेत्रको करोड भुक्तानी रोकिएको छ ।