डोटी – सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले राजधानीको निर्णय उल्टाउन सकिने अभिव्यक्ति दिएका छन् । डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सोमबार डोटीको दिपायलमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री रैकाले आउने निर्वाचनपछि डोटीमा राजधानी तोक्न सकिने बताए ।
उनले तत्कालीन प्रदेश सरकारले गोदाबरीको जङ्गलमा राजधानी बनाउने भनी गरेको निर्णय गलत भएको बताए । उनले भने, ‘प्रदेश सरकार राजधानीको निर्णय गर्दा त्यसवेला चुकेको छ, राजधानी निर्माणको काम अघि बढ्न सकेको छैन ।’ मन्त्री रैकाले कसको स्वार्थमा प्रदेश राजधानी गोदावरी बनाइएको हो भन्ने आफूलाई जानकारी नभएको बताए ।
‘सम्भावना र लगानी नै लगाउन नसकिने क्षेत्रमा स्थायी राजधानी तोकिनुभन्दा पर्याप्त सरकारी संरचना र भवनहरू भएको तत्कालीन क्षेत्रीय सदरमुकाममै राजधानी तोक्नु पर्थ्यो’ मन्त्री रैकाले भने, ‘दिपायलमा अझै पनि राजधानी फिर्ता ल्याउँन सकिन्छ ।’
प्रधानमन्त्री देउवा जस्तै मन्त्री रैकाले पनि राजधानीका लागि डोटेली मतदातासँग भोट मागे । उनले भने, ‘आगामी निर्वाचनमा जनताले विवेक पु¥याएर मतदान गरेमा आउने सरकारले राजधानीको निर्णय उल्ट्याउन सक्छ ।’ उनी थप्छन् ‘म पनि डोटीमा राजधानी कायम गर्नका लागि कहाँ अनसन बस्नु पर्छ, कहाँ आन्दोलन गर्नु पर्छ, कहाँबाट निर्णय गराउनु पर्छ तयार छु ।’