शास्त्रहरूमा जीवनका सबै जरुरी कामका लागि खास कुराहरू बताइएका छन् । यी कुरालाई ध्यानमा राख्दा स्वास्थ्य लाभका साथसाथै सुख समृद्धि पनि प्राप्त हुन्छ ।

सुत्नु दैनिक जीवनको महत्वपूर्ण अंग हो । सुत्दाखेरी लापरवाही गरेमा स्वास्थ्यलाई प्रतिकूल असर पर्छ । कुन दिशामा शिर अनि कुन दिशामा गोडा पारेर सुत्दा राम्रो हुन्छ भन्ने कुरामा ध्यान पुर्याउनु जरुरी छ ।


दक्षिण दिशामा शिर अनि उत्तर दिशामा गोडा पारेर सुत्नु सर्वोत्तम मानिन्छ । यसरी सुत्दा धेरै बिमारी लाग्न पाउँदैनन् । वातावरणमा चुम्बकीय शक्ति रहेको हुन्छ र यो शक्ति दक्षिणबाट उत्तरतिर गइरहेको हुन्छ । हामीले दक्षिणतिर शिर पारेर सुत्दा यो ऊर्जा हाम्रो शिरबाट पसेर गोडाको बाटो हुँदै निस्कन्छ । यसरी ऊर्जाको यात्राक्रममा भोजन पनि मजाले पच्छ । यसरी सुतेर बिहानीपख उठ्दा हाम्रो दिमाग शान्त हुन्छ र हामी ताजापन महसुस गर्छौं ।

यसको ठीक उल्टो दक्षिण दिशामा गोडा पारेर सुत्दा चुम्बकीय ऊर्जा गोडाबाट छिरेर शिरतिर पुग्छ । त्यो चुम्बकीय ऊर्जाले तपाईंको मस्तिष्कमा अनावश्यक दबाब दिन्छ किनकि शरीरका विभिन्न अंगलाई छुँदै छिरेको ऊर्जालाई मस्किष्कले सोस्छ र भारी बढाउँछ । त्यो अवस्थामा तपाईं ५ देखि ६ घन्टा रहनुभयो भने दिमागलाई लगातार दबाब परिरहन्छ र रोगहरू लाग्न थाल्छ ।
दक्षिण दिशातर्फ शिर पारेर सुत्न सकिएन भने पूर्व दिशामा शिर अनि पश्चिम दिशामा गोडा पारेर सुत्नु राम्रो हुन्छ । सूर्य पूर्व दिशाबाट उदाउँछ र बिहान पूर्व दिशातर्फ शिर हुँदा सूर्य भगवानको सम्मान हुन्छ । पश्चिममा टाउको पारेर सुत्दा एकाबिहानै सूर्यलाई गोडा देखाएर अपमान गरेको ठहर्छ ।