डोटीको जोरायल गाउँपालिकाका कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा वितरण
डोटी – सुन्तला र अमिलो उत्पादनका लागी प्रसिद्ध मानिदै आएको डोटीको जोरायल गाउँपालिकाका सबै वडामा सुन्तलाका विरुवा वितरण गर्न थालिएको छ ।

गाउँपालिकामा रहेको कृषि विकास कार्यालयले यहाँका नौ वटै वडाका कृषकलाई निःशुल्क रुपमा सुन्तलाका बिरुवा वितरण गर्न थालेको हो ।

प्रत्येक वडामा कम्तीमा पनि २०० जना व्यावसायिक रुपमा सुन्तला खेती गर्ने कृषकलाई निःशुल्क रुपमा सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्न सुरु गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

यहाँका विभिन्न नर्सरीमा उत्पादन गरिएका र कृषकको मागका आधारमा जिल्ला बाहिरबाट ल्याइएका सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्ने कार्य कृषि विकाश कार्यालयले सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाले जानकारी दिए । कृषि विकास कार्यालयले वितरण सुरु गरेका बिरुवामा सुन्तला, कागती, लिची, आँपलगायत रहेका छन् ।
सुन्तलाका बिरुवा कम्तीमा १ हजार २ सय जति रहेको बताइएको छ । पालिकाभरिका किसानलाई सुन्तला तथा अमिलो लगायतका नगदेखेतीमा आत्मनिर्भर गर्नका लागि निःशुल्क रुपमा अमिलो तथा सुन्तलाका बिरुवा वितरण गरिन लागिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।