अत्तरिया – मोहना अत्तरिया ६ लेन सडकको अत्तरिया खण्डमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको छ । शनिबार गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले अत्तरिया देखि मोहना एयरपोर्ट सम्मको खण्डमा वृक्षारोपण गर्ने कार्यको शुभारम्भ गरेका हुन ।
प्लानेट ग्रिन नेपाल र एभरेष्ट एकेडेमिको आयोजना र गोदावरी नगरपालिकोको संरक्षणमा गरिएको उक्त कार्यक्रम अन्तरगत करिब ९ सय विरुवा रोपिने जनाइएको छ । वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै गोदावरी नगरपालिकाका नगरप्रमुख भट्टले अत्तरियालाई क्लिन सिटी, ग्रीन सिटी बनाउने भन्ने अवधारणाका साथ आगाडी बढेको बताए ।
‘सोही अवधारणालाई साथ दिने गरी आजबाट काम सुरु भएको छ’ उनले भने ‘सडकमा मात्रै नभएर पुरै गोदावरी नगरपालिकालाई हरियाली बनाउन घर घरमा विरुवा रोप्ने काम पनि अगाडी बढाइने छ ।’
प्लानेट ग्रिन नेपाल संस्थाका अध्यक्ष पुस्कर शर्मा जोशीले कार्यक्रमको आज सुभारम्भ भएको र, आगामी दिनमा लगातार वृक्षारोपणको गर्ने कार्य अगाडी बढ्ने बताए । उनले वृक्षारोपणका लागि विभिन्न संघ सस्थाहरु संग समन्वय गरेर अगाडी बढीरहेको बताए ।
उनले ६ लेन सडकको बिच भागमा बिरुवा रोपेर करिब ४ बर्ष सम्म संरक्षण गर्ने जिम्मा लिइने बताए । कार्यक्रम अन्तरगत क्रोटन, घण्टेश्वरी, गुलाव, सिरोज, प्लावरिङ्ग केक्टस, धुपी, एक्जारो, कामीनी लगाएतका बिरुवा रोपिदै छन ।
१४.२ किलोमिटर लम्बाईको मोहना अत्तरियाय ६ लेन सडक निर्माणका क्रममा १ हजार ४ सय ५४ रुख काटिएका भएपनि उक्त योजना अन्तरगत रुख रोप्ने योजना भने समेटिएको थिएन । हाल धनगढी चौराहा देखि मोहना एरपोर्ट सम्म भने भाटभटेनी सुपरमार्केटले बृक्षारोपण गरिरहेको छ ।