शुक्लाफाँटा नगरपालिकामा जग्गा नापीको काम शुरु

 

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकामा जग्गा नापी शुरु गरिएको छ । नगरपालिकाको वडा नं ९ सिसैयाबाट नापी शुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरले अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन नापी गर्न थालिएको हो । जग्गा नाप नक्सा सम्बन्धी कार्यविधि अन्तर्गत रहेर जग्गा नापी अघि बढाइएको आयोगको जिल्ला समिति कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले बताए ।

Karma Consultancy

‘जग्गा नाप गरी सँधियार राखेर फिल्ड मुचुल्का तयार हुन्छ’, उनले भने, ‘तयार गरिएको नक्सा प्रमाणित गर्न आयोगमा पठाउनुपर्ने हुन्छ । त्यसपछि जग्गाको फिल्डबुक कायम गरी जग्गाधनी प्रमाणपत्र बन्छ ।’

citizen security services

यो राष्ट्रिय अभियानको कार्य भएकाले अव्यवस्थित बसोवासीलाई छिटोभन्दा छिटो जग्गा कसरी उपलब्ध गराउन सकिन्छ । त्यसका लागि काम अघि बढाइएको उनले बताए । ‘विगतका आयोगले जग्गा सम्बन्धी समस्या समाधान नगर्दा समस्याको थुप्रो लागेको छ’, उनले भने, ‘जग्गा एकले कमाउँदै छ । अर्काले हक दावी गर्छ। यस्तो अवस्थामा जसको चलनभोगमा वर्षौंदेखि जग्गा छ । त्यसैको नाममा जग्गा नापी हुन्छ। वास्तविक जग्गाधनीलाई मात्रै स्वामित्व प्रदान गर्छौ ।’

attariya hospital

जग्गा नापी भई फिल्डबुक कायम भएका सेतो जग्गाधनी प्रमाणपत्र पाएकाहरूबारे अध्ययन भइरहेको उनले उल्लेख गरे र नापी शुरु गर्दै नगरप्रमुख रणबहादुर महराले लामो समयदेखि जग्गा कमाउँदै आए पनि स्वामित्व नपाएका व्यक्तिहरूलाई चाँडै जग्गाको मालिक बनाइने बताए ।

‘यति चाँडै जग्गा नापी होला भन्ने सोचेका थिएनौं’, उनले भने, ‘छोटो अवधिमै अव्यवस्थित बसोवासी जग्गाका मालिक बन्न लागेका छन्। चुनाव जितेर आएपछि पहिलो कामका रूपमा नापी अघि बढाएका छौं ।’

‘चुनावका वेला जग्गाको स्वामित्व प्रदान गर्ने कुरा उठाएका थियौं। त्यो वाचा पूरा गर्न प्रतिबद्ध छौं’, उनले भने । जग्गा नापी गर्दा निष्पक्ष रूपमा गर्नुपर्ने उपप्रमुख कल्पना पन्तले बताइन् । ‘यस कार्यमा सबैको साथ र सहयोग चाहिन्छ’, उनले भनिन्, ‘सबैको सहजीकरणको आवश्यकता छ ।’

आयोगको जिल्ला समितिका सदस्य सचिव तथा नापी अधिकृत पुष्करबहादुर पालले भूमि आयोगले जारी गरेको निर्देशन अध्ययन गरी नाप नक्साको काम गर्नुपर्ने बताए । निस्सा र चलनभोगका आधारमा जग्गा नापीको काम हुने उनले बताए ।

वडा नं ९ मा ४३५ जना अव्यवस्थित बसोवासीले जग्गाधनी प्रमाणपत्रका लागि आयोगको कार्यालयमा निवेदन दिएका छन् । नगरपालिकामा १२ हजार अव्यवस्थित परिवारले जग्गाधनी प्रमाणपत्रका लागि निवेदन दिएका छन् ।

नगरपालिकामा पहिलो चरणमा निस्सा वितरण पूरा भएका वडा नं १, ३ र ९ मा नापी हुने बताइएको छ । कञ्चनपुर जिल्लाको वेदकोट, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा जग्गा नापी शुरु भएको छ ।

जिल्लामा हालसम्म ३ हजार १५१ भूमिहीन दलित र सुकुमवासीले बसोवासका लागि फाराम भरेका छन् । ३९ हजार अव्यवस्थित बसोवासी र आयोगको जिल्लास्थित कार्यालयबाट ६ हजार ४१७ जनाले जग्गाको अधुरो कामका लागि फाराम भरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.